१२ श्रावण २०८१, शनिबार
समाज

क्लब ओम्निया कुटपिट प्रकरणका आरोपी ८ हजार धरौटी तिरेर छुटे

१० साउन, काठमाडौं । काठमाडौं महानगरपालिका-२६, ठमेलस्थित क्लब ओम्नियामा सञ्चालक राजेन्द्र गुरुङसहित अरु कर्मचारीहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ७ जनामध्ये ६ जना छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले रघु तामाङ, विनोद तामाङ, कमल तामाङ, निरु भनिने निरज गुरुङ, विश्व तामाङ र बिक्रम अधिकारीलाई ८ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रशासनको आदेशपछि उनीहरुलाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डीएसपी अनिल अधिकारीले बताए ।

उनका अनुसार, घटनामा पक्राउ परेकामध्ये सानुभाइ भनिने युवराज गुरुङ चाहिँ अभद्र व्यवहारमा पटकपटक पक्राउ परिसकेको व्यक्ति भएकाले उनको मुद्दा भने जिल्ला अदालतमा नै पेश हुनेछ । ‘बुधबार (आज) साँझसम्ममा उनको हकमा के हुन्छ थाहा होला’, अधिकारीले भने ।

१५ असारमा क्लब बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरी कहाँ किटानी जाहेरी दिएका थिए । भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको उनको आरोप छ ।

तर, पक्राउ परेकाहरुले शेयरसम्बन्धी विवाद रहेको दाबी गरेका थिए । घटनामा संलग्नहरुलाई प्रहरीले २ साउनमा ठमेलमा हत्कडीसहित डुलाएको थियो ।

बुधबार अदालत पेश गर्न लागिएका सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय रहेको प्रहरी बताउँछ । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।

काठमाडौं प्रहरीका एसएसपी दानबहादुर कार्कीका अनुसार, २५ पुस २०७२ मा उनी नुवाकोटबाट २८ बोर रिभल्वर र एउटा गोलीसहित पक्राउ परेका थिए । त्यसबेला उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो । उनका अनुसार, गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए ।

२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसुरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्