१२ श्रावण २०८१, शनिबार
राजनीति सूचना प्रविधि

प्रधानमन्त्रीलाई ब्रिफिङ- कमजोर भयो देशको साइबर सुरक्षा

५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको कमजोर बन्दै गएको साइबर सुरक्षा प्रणालीमा चासो व्यक्त गरेका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालयसहित सबै सुरक्षा निकायहरुको बैठक डाकेर साइबर सुरक्षाका पक्ष मजबुत बनाउन गर्नुपर्ने कामहरुबारे जानकारी लिएका छन् ।

देशको साइबर सुरक्षा अवस्थाबारे जानकारी दिन आयोजित बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीले सुझाबसहितको प्रस्तुति राखेका थिए । उनीहरुले साइबर सुरक्षाको पक्ष मजबुत गर्न पर्याप्त नीति र कानुनहरु नबनेको बताएका थिए । साइबर सुरक्षालाई बलियो बनाउन संरचनात्मक व्यवस्था र पूर्वाधारहरु तयार गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

‘सेना, प्रहरी र सञ्चार मन्त्रालयले अहिलेको अवस्था कमजोर रहेको र सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए,’ बैठकमा सहभागी एक अधिकारीले भने ।

प्रस्तुतिपछि प्रधानमन्त्री गम्भीर भएर साइबर सुरक्षा प्रवद्र्धनमा लाग्न निर्देशन दिएका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीका अनुसार सरोकारवाला निकायहरुले प्राथमिकताकासाथ गम्भीर भएर काम गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए ।

‘पर्याप्त कानुनी, नीतिगत तथा संस्थागत व्यवस्था गरेर अघि बढ्नुपर्नेमा उहाँको जोड छ,’ वैरागीले भने,‘राष्ट्रिय सुरक्षामा चुनौती निम्त्याउन सक्ने विषय भएकाले प्राथमिकताका साथ काम गर्नुपर्छ भन्नुभएको छ ।’ यसका लागि कार्ययोजना बनाएर अघि बढ्ने निर्णय पनि भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्