भारतमा बाढीको बितण्डा : ४५ वर्षपछि यमुनाको बाढी ताजमहल पस्यो, हिमाञ्चलमा भारी वर्षाको चेतावनी
![](https://www.ratokagaj.com/wp-content/uploads/2023/07/Yamuna-River-flood-at-Tajmahal.jpg)
१ साउन, काठमाडौं । उत्तर भारतमा लगातारको वर्षाले यमुना नदीमा आएको बाढीका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ । उत्तरी भारतको पहाडी क्षेत्रमा पुन: भीषण वर्षा हुने पुर्वानुमान गरिएको छ ।
आगरामा यमुना नदीले आइतबार बिहान खतराको स्तर (२०५.३३ मिटर) पार गरेको छ भने ४५ वर्षपछि यमुनाको बाढी ताजमहलको पर्खालसम्म पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ ।
दिल्लीमा यमुनाको बाढीको बहाब घटेपनि अहिले पनि खतराको स्तर (२०५.३३ मिटर) माथिबाट पानी बगिरहेको छ ।
गढमुक्तेश्वरमा पनि गंगाको जलस्तर १३ वर्षपछि पहेँलो संकेत पार गरेको छ। ब्रजघाटमा गंगाको पानी आरती स्थल नजिकैको सिँढीमा पुगेको छ। हिमाचल प्रदेशमा पनि आइतबार अशिकांश जिल्लामा वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो पूर्वानुमान अनुसार प्रदेशका सबै जिल्लामा भारी वर्षा हुने चेतावनी दिइएको छ। यस अवधिमा केही स्थानमा बादल फाट्ने र अचानक बाढी आउन सक्ने चेतावनी दिइएको छ। दिल्लीमा पनि तीन दिनसम्म हल्का वर्षाको सम्भावना रहेको पुर्वानुमान गरिएको छ।
![](https://www.ratokagaj.com/wp-content/uploads/2023/07/Yamuna-river-dilhi-1024x851.jpg)
आइतबार उत्तर प्रदेशका अधिकांश जिल्लामा बादल लागे पनि वर्षाको सम्भावना भने सुख्खै छ। केही जिल्लामा भने हल्का छिटफुट वर्षा भएको छ । यस्तो अवस्थामा पनि नदीको जलस्तर केही घटबढ भइरहेको छ । जसकारण आगराको दक्षिणी किनारमा एटमदौलाको यमुना किनारमा रहेको कोठाहरूमा एकदेखि डेढ फिटसम्म पानी भरिएको छ। यसका साथै ताजमहलको छेउमा यमुनाको किनारमा बनाइएको बगैँचासम्म बाढी पुगेको छ ।
यसअघि सन् १९७८ को बाढीमा यमुनाको पानी ताजमहलको तहखानेसम्म पुगेको थियो। यमुनाको बाढीले सीमावर्ती गाउँ पनि डुबेको छ । प्रशासनले भने त्यहाँ सतर्कता अपनाउन भनेको छ ।
![](https://www.ratokagaj.com/wp-content/uploads/2023/07/Yamuna-River-flood-at-Tajmahal-Garden-1024x851.jpg)
सडक छेउमा लगाइको स्याउको बगैँचामा क्षति
यता हिमाचल प्रदेशमा आइतबार अधिकांश स्थानमा भारी वर्षा भएको छ । रोहडुको मनखुनमा वर्षाका कारण सडक छेउमा लगाइएको स्याउका बगैँचामा क्षति भएको छ ।
जाहलमा नालाहरू फेरि भरिएका छन् यसले चन्द्रभागा नदीमा बनाइएको ताल भरिएको छ । मण्डीमा घरको छाना खस्दा दुई जनाको मृत्यु भएको छ भने मनालीमा पदयात्रा गएका दुई जनाको शव हिउँमा पुरिएको अवस्थामा भेटिएको छ ।
ऋषिकेशमा खतराको नजिक गंगा नदी
यस्तै उत्तराखण्डमा पहाडी क्षेत्रमा निरन्तरको वर्षाले नदीहरुको जलस्तर अत्यधिक बढेको छ ।
यही कारण आइतबार श्रीनगर बाँधबाट पानी छाड्नु परेको थियो, जसले ऋषिकेश र हरिद्वारसमेत मैदानी क्षेत्रमा गंगा नदीको जलस्तर बढ्ने स्थिति गम्भीर बनिसकेको छ ।
![](https://www.ratokagaj.com/wp-content/uploads/2023/07/Ganga-River-1024x574.jpg)
ऋषिकेशमा गंगा नदी खतराको स्तर पार गरेर बगिरहेको छ । बद्रीनाथ तथा हेमकुण्ड यात्रामा आएका १ हजार ५ सय बढी तीर्थयात्रीहरू अलपत्र परेका छन्। उनीहरू राजमार्ग खुल्ने आशा पर्खिएर बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्