३ असार २०८१, सोमबार
अन्तराष्ट्रिय मुख्‍य समाचार राजनीति

भारतमा महँगो लोकसभा चुनावको सम्भावित नतिजा

१५ जेठ , काठमाडौँ । बीजेपी कि इन्डिया गठबन्धन, कसले चुनाव जित्छ भन्ने आकलन गर्न कठिन छ । साना दलहरूले चुनाव जित्ने सम्भावना छैन । भारतीय मतदाता सहजै चुनाव चिह्न परिवर्तन गर्छन् र मत दिन्छन् । प्रदेशमा बलिया दलहरू पनि लोकसभा निर्वाचनमा कमजोर हुन पुग्छन् ।

भारतको प्रतिनिधिसभा (लोकसभा) का ५४३ पदका लागि प्रत्यक्ष निर्वाचन भइरहेको छ । भारतको चुनावी इतिहासमा यो चुनाव अपेक्षाकृत शान्त भन्न सकिन्छ । प्राध्यापकद्वय उर्सुला ड्याक्सेसर र हान्ने फिल्डेले गरेको चुनावी हिंसाको अध्ययन अनुसार मतदाताले चुनावी हिंसालाई दलीय दृष्टिकोणबाट हेर्ने गरेको पाइएको छ ।

एनडीए वा इन्डिया दुवै गठबन्धनले चुनाव जित्ने दाबी गरिरहेका छन् । बीजेपीले ‘अब की बार ४०० पार’ भनेको छ र राहुल गान्धीले बीजेपीले १५० सिट पनि जित्न सक्दैन, आफूहरूले बहुमत ल्याउने भनिरहेका छन् ।

राजनीतिमा ‘पोजिसन’, ‘वान्ट्स’ र ‘निड’ को मनोवैज्ञानिक गतिशीलता हुन्छ । पोजिसन भनेको राजनीतिमा देखाइने उच्चतम अभिलाषा वा नेगोसिएसन ठूलो माग हो, जसमा नेताहरू अडिग देखाउन चाहन्छन् । वास्तवमा अडिग हुँदैनन् ।

वान्ट्स, दल वा नेताको चाहना हो, त्यसप्रति उनीहरू आशातित रहन्छन् तर के बुझ्छन् भने सबै चाहना पूरा हुँदैनन् । निड भनेको उनीहरूको आवश्यकता हो । यही निड प्राप्त गर्न पोजिसन र चाहनाको लेनदेन अर्थात् बार्गेनिड टुल्स प्रयोग गर्दछन् । आवश्यकता पूर्ति गर्न यसो गरिने हो ।

जनतामा आफ्नो क्षमता वा पोजिसन देखाउनु, प्रतिपक्षीलाई चुनाव अघि नै हतोत्साही गराउनु हो । उसको खास चाहना भने २०१९ को चुनावमा प्राप्त सिट यसपालि पनि सुरक्षित गर्नु रहेको बुझ्न कठिन छैन ।

उसको न्यूनतम खोजी सरकार बनाउन पुग्ने २७२ सिट हो । अर्कातिर इन्डिया गठबन्धनको पोजिसन बीजेपी पराजित गर्नु, दक्षिण भारतका लोकसभा सिटहरूमा बीजेपीलाई रोक्नु र वास्तविक आवश्यकता एक बलियो प्रतिपक्षी दल बन्नु हो ।

एक अर्ब ४१ करोड जनसङ्ख्या, ९६ करोड ९० लाख मतदाता, राष्ट्रिय दल ६, प्रदेशस्तरीय वा क्षेत्रीय दल ५७, मान्यता प्राप्त नगरेका २ हजार ७६४ गरी २ हजार ८२७ राजनीतिक दलहरू रहेको देशको यो चुनावमा ८ हजार ३६० उम्मेद्वार मात्रै मैदानमा छन् ।

९०० टिभी च्यानल, एकलाख बराबरी पत्रपत्रिका, लाखौं चुनावी सेफोलोजिस्ट, सयौं ज्योतिष, राजनीतिशास्त्रका महापण्डित, वरिष्ठ पत्रकार आ–आफ्ना चुनावी आकलन प्रस्तुत गरिरहेका छन् । यस्ता आकलनका अन्तरवस्तुहरूमा मतदाता मनोविज्ञान, अर्थतन्त्र, विकास, क्षेत्रीयतावाद, धर्म, दलीय संगठन, संस्कृति, भाषा, लोकतान्त्रिक आचरण र प्रवृत्ति अनि सरकार र विपक्षीका राजनीतिक तथा प्रशासनिक कार्यदक्षताहरू हुने गरेका छन् ।

यस चुनावले संसारका मिडिया र सरकारहरूको समेत ध्यानाकर्षण गराएको छ । भारतको जनसंख्या, बढ्दै गएको क्रयशक्ति, अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतको महत्व आदिले गर्दा विश्वको ध्यान आकर्षित भएको हो ।

सीमा विवादका बाबजुद भारत चीनको व्यापारिक साझेदारी बढिरहेको छ । ग्लोबल टाइम्सका अनुसार २०२३ मा भारत–चीन व्यापार अमेरिकी डलर १३६.२२ बिलियन थियो । भारतीय न्यूज च्यानलहरूका अनुसार चीनको ग्लोबल टाइम्सले एनडीए गठबन्धनले ४३० सिट जित्ने आकलन गरेको भन्ने समाचारलाई प्राथमिकताका साथ प्रसारण गरेका छन् ।

चुनावी राजनीति र रणनीतिको सन्दर्भमा प्रसिद्ध अखबार द इकोनोमिस्ट भन्छ, भारतमा हिन्दु राष्ट्रवादी लोकप्रियता प्रमाणित भइरहेको छ । कर्नाटकाबाट प्रकाशित डकान हेराल्डले लेखेको छ– ‘बीजेपी ३७० सिट जित्न सक्छ र यो जित श्यामाप्रसाद मुखर्जीलाई सत्य श्रद्धाञ्जली हुनेछ ।’

धर्मका साथै भारतको चुनावको मुद्दा अर्थतन्त्रलाई मानिएको छ । बीजेपीले बृहत् अर्थव्यवस्थामा जोड दिएको छ । उसले कर, राजस्व, ठूला पूर्वाधार, वैश्विक व्यापार र भारतको अन्तर्राष्ट्रिय राजनीतिमा प्रभावका साथै भारतको सांस्कृतिक साझा पहिचानमा जोड दिएको छ ।

उसको प्रतिस्पर्धी इन्डिया गठबन्धनले रोजगारी, आपूर्ति, उत्पादन मूल्य, माग र आपूर्ति बीचको समरूपता, उत्पादनको सैद्धान्तिक मान्यता, श्रममूल्य र श्रमनीति जस्ता कुरामा जोड दिएको छ ।

कति महँगो छ भारतीय लोकसभा ?

न्युयोर्क टाइम्सका अनुसार चुनावमा १० खर्ब भारु (नेपाली १६ खर्ब नेपालको एक वर्षको बजेट) खर्च हुनेछ । सरकारी खर्चका अतिरिक्त राजनीतिक दलहरूले पनि चुनावमा भरमार पैसा खर्च गर्नेछन् । सन् २०१९ को चुनावमा भारतका राजनीतिक दलहरूले ७ अर्ब अमेरिकी डलर खर्च गरेका थिए भने यो साल सो रकमको डबल खर्च हुने अखबारहरूको अनुमान छ ।

आश्चर्यचकित भारतीय चुनाव भन्दै न्युयोर्क टाइम्समा भनिएको छ- मोदीको बीजेपी शक्तिमा फर्कनेछ, मोदीले सबैलाई चित्त बुझाउन कुनै न कुनै फण्डा ल्याउँछन् । बीजेपीसँग चुनावी संयन्त्र, पैसा र प्रभाव क्षेत्र पनि छ । विरोधमा होस् वा समर्थनमा लगभग ७० प्रतिशत मिडिया कभरेज मोदीको नाममा भइरहेका छन् । रोयटर र जर्मनीको डीडब्लुले पनि विश्लेषकहरूको हवाला दिंदै बीजेपीको भारी जित हुनसक्ने बताएका छन् ।

भारतको चुनावका विश्लेषकहरू या त मोदी नेतृत्वको गठबन्धन वा इन्डिया गठबन्धनप्रति धेरै भावुक छन् कि स्वतन्त्र विश्लेषकहरू असम्भव जस्तो लाग्छ । टेलिभिजन एङ्कर र पत्रकारहरू नै खुल्लमखुला दलहरूको प्रचार गर्न कुनै धक मान्दैनन् । मूलधारका राष्ट्रिय सञ्चार संयन्त्रभन्दा फेसबुक पोस्ट, ट्वीटहरू बढी वास्तविक लाग्छन् ।

यो लेख्ने क्रममा मैले दुई जना स्वतन्त्र विश्लेषकहरू प्रशान्त किशोर र योगेन्द्र यादवलाई निरन्तर फलो गरिरहेको छु । प्रशान्त किशोरका भनाइमा क्रमशः परिवर्तन आइरहेका छन् र आजसम्म आउँदा उनी बीजेपीले २०१९ को तुलनामा केही सिट बढाउन सक्ने अनुमान गर्छन् ।

योगेन्द्र यादव बीजेपी २४० र २६० बीचमा रहने अनुमान गर्दछन् । उनका अनुसार भारतीय राष्ट्रिय कंग्रेसले ८५ देखि १०० सिट प्राप्त गर्न सक्ने देख्छन् । प्रशान्त किशोरका २४ लाख दर्शक छन् भने योगेन्द्र यादवका लगभग २ लाख ५० हजार मात्रै । यसका आधारमा किशोरको आकलन बढी सान्दर्भिक लाग्छ ।

चुनावको आकर्षण

जनसंख्या नै भारतीय चुनावको ठूलो आकर्षण हो । भारतको जनसंख्यासँग तुलना गर्ने हो भने २६ लाख ९ हजार ५७६ नागरिकका लागि संसद्को एक सिट पर्दछ । उत्तरप्रदेशमा लोकसभाका एक सदस्यले ३० लाख १३ हजार ३३५ नागरिकको प्रतिनिधित्व गर्दछ । आन्ध्रप्रदेशको मलकाजगिरि निर्वाचन क्षेत्रमा ३७ लाख ४० हजार मतदाता छन् । यो संख्या नेपालको मधेश प्रदेशको मतदाता संख्या बराबर हुन आउँछ ।

इन्डिया गठबन्धन पक्षीय विश्लेषकहरू भारतमा लोकतन्त्र र लोकतान्त्रिक मान्यता र अवधारणा खण्डित हुँदै गएको, राज्यको निष्पक्षता र चुनावी स्वायत्ततामा अंकुश लागेको, समाजलाई सांस्कृतिक वैचारिकीका आधारमा ध्रुवीकरण गरिएको र समाजबीच अन्तरनिहित मानवीय सम्बन्धहरूलाई हिन्दु–मुस्लिम सम्बन्धमा विभाजन गरी धार्मिक वैमनस्यको बीजारोपित अवस्थालाई मौलाउने मौका प्रदान गरिएको आरोप लगाइरहेका छन् ।

बीजेपी पक्षीयहरू भारतवर्षका सनातन सांस्कृतिक वैचारिकी, सनातनी इतिहास, मुगल र बेलायती उपनिवेशका गलत अभ्यास बदली भारतीय पहिचान स्थापना गर्ने रणनीतिमा बहस गरिरहेका छन् । अमेरिकी वैज्ञानिकहरूले २ हजार ७०० मानिसको जेनोम अध्ययनको निष्कर्ष निकाल्दै भारतमा ५० हजार वर्षदेखि मानव सभ्यता निरन्तर छ भनेको छ । यसले बीजेपीले भन्ने गरेको भारतीय स्वाधीन विश्व दृष्टिकोण र ज्ञान परम्परालाई पुष्टि गरेको छ ।

चुनावी रणनीति, चुनावी घोषणापत्र, नेताहरूका अभिव्यक्तिलाई गम्भीरतापूर्वक अध्ययन गर्ने हो भने बीजेपी भारतीय समाजमा हिन्दु मुस्लिम मत ध्रुवीकरण स्वाभाविक ठान्दछ । बीजेपी मुस्लिम मतप्रति न त बढी आशावादी थियो न आतंकित नै ।

भारतीय राष्ट्रिय कंग्रेसले ल्याएको चुनावी घोषणापत्रले बीजेपी अपेक्षित मत ध्रुवीकरणलाई सहयोग पुर्‍याएको देखिन्छ । यसलाई चुनावी पर्यवेक्षकहरू आफ्नै सैद्धान्तिक अडानले आफ्नै शिकार गर्ने दिशामा कंग्रेस छ, भनिरहेका छन् ।

अर्को आश्चर्य के देखिन्छ भने भारतमा मुसलमान पुरुषभन्दा महिलाहरूमा आधुनिकताप्रतिको चाख बढेर गएको छ । ठूलो संख्याका मुस्लिम महिलाहरू जो वकालत, प्राध्यापन, शिक्षक, गैरसरकारी संस्था वा नागरिक समाजको कुनै निकायमा कार्यरत छन् उनीहरू हिन्दु महिला र मुस्लिम महिलाहरू बीचको सामाजिक, आर्थिक, सांस्कृतिक, मानवअधिकार जस्ता सवालको अन्तर र आर्थिक सामाजिक स्तर विन्यासको कारक खोजेर प्रसारण गरिरहेका छन् । यसले मुस्लिम समाजमा बीजेपीको रणनीतिक मताग्रह स्थापित गर्दै लगिरहेको छ ।

चुनावको यस महासंग्राममा वातावरण, जलवायु परिवर्तन, सांसारिक तापमानमा वृद्धि, प्राकृतिक र मानव उत्प्रेरित विपत् जस्ता विषय मुद्दा मानिएका छैनन् । यसका बदलामा मान्छेका मनोवैज्ञानिक आवश्यकता भाषा, धर्म, संस्कृति र सभ्यताले चुनावको नेतृत्व गरिरहेका छन् ।

भारतको चुनाव भारतीय संज्ञान र लोकतन्त्रका एथेन्स, ग्रीस हुँदै पश्चिमा वैचारिकीको शास्त्रार्थको एक महामञ्च हुन पुगेको छ । सत्य दुवैतिर छ । तर्क दुवैतिरका बलशाली छन् । चुनावले नागरिक वैचारिकी स्थापित गर्नेछ ।

सन् १९५३ मा प्रकाशित ग्रुप डाइनामिक्समा समूह गतिशीलताका विषयमा लेखिए झैं हिन्दुत्वमा आकर्षित समूहको गतिशीलताले राजनीतिक वादको संगृहीत रूप लिइसकेको छ । यो वाद बीजेपी नेतृत्वमा क्रियाशील र प्रभावकारी छ ।

भारतीय चुनावमा मतदाता मनोविज्ञानको सारभूत अध्ययन भइसकेको छ । राहा कलेज आसामका बिराज हजारिकाका अनुसार भारतीय मतदाता कुनै नेतामा करिस्माटिक (जे पनि गर्न सक्ने) क्षमता देख्छन् । सन् १९७१ मा इन्दिरा गान्धीको ‘गरिबी हटाओ’ नाराले उनको करिस्मा उजागर भएको थियो ।

यस्तै जात, धर्म र भाषा चुनावी नतिजाका निर्धारक हुन् । बीजेपी मात्र नभएर मुस्लिम लिग, अकाली दल र शिवसेना पनि धर्मको राजनीति गरिरहेका छन् । भारतको संविधानमा रहेको धर्म निरपेक्षतामा अडिग राष्ट्रिय कंग्रेस धर्मले ल्याउने मतान्तरको अन्तरमा सचेत देखिन्छ ।

उसले धर्मनिरपेक्षताको संवैधानिक प्रावधानमा जोड दिइरहेको छ । निरपेक्ष वा सापेक्ष भारतको चुनावमा धर्म नै मूल मुद्दा बन्न पुगेको छ । सरकार वा दलहरूको दक्षता त मत निर्धारकको सातौं संख्यामा पर्ने उनको विचार छ ।

चुनाव मतदाताहरूलाई सशक्त बनाउने उपायहरूमा भन्दा मनोवैज्ञानिक उत्तोलक जस्तो भाषा, धर्म, क्षेत्रीयतावाद आदिमा आधारित छ । मनोवैज्ञानिक कारणका आधारमा गरिने मतदानमा उम्मेदवारको आपराधिक पृष्ठभूमि पनि क्षम्य ठानिने गरेको छ । बीबीसी समाचारमा भनिएको छ– ‘भारतीय मतदाताहरू उम्मेद्वारको आपराधिक विगत पनि बिर्सिदिन्छन् ।’

हिन्दु वा सनातनी संप्रेष्य राजनीतिक अवधारणाहरूको नेपालमा अनुमान गरिए जस्तो नकारात्मक प्रभाव देखिएको छैन । बरु धार्मिक एकताको संगठित नाराले विभाजित समाजमा सामूहिक वा साझा पहिचान स्थापना गर्न मद्दत गरिरहेको छ । सूक्ष्म पहिचान, द्वन्द्वको जरो कारण हुने गर्दछ । आम वा साझा पहिचान द्वन्द्व समाधानको सूत्र हुन सक्छ भनिन्छ । धार्मिक साझा पहिचानप्रति सम्मतिले आन्तरिक साना द्वन्द्वहरू आफसेआफ समाधान भएर जाने सम्भावना पनि रहन्छ भन्छन् विश्लेषकहरू । कतिपय मौलवी, मुस्लिम धर्मगुरु, नेता र प्राज्ञहरू हिन्दु पुर्खाको सन्तान हौं भन्न थालेको पाइएको छ । यसले ध्रुवीकरणको आयाम बताउँछ ।

उता इन्डिया गठबन्धनमा राहुल गान्धीको ब्रान्डेड पोस्टरमा लोकतन्त्रको आधारभूत मान्यता र लोकतन्त्रको सामाजिकीकरणको नारा अघि सारिएको छ । वैश्विक तहका प्रतिक्रिया विचार गर्ने हो भने गान्धीलाई लोकतान्त्रिक भनिएको छ र नरेन्द्र मोदीको लोकतन्त्रप्रतिको प्रतिबद्धतामा प्रश्न उठाइएको छ । भारतीय नागरिकहरू कस्तो लोकतन्त्र खोज्छन्, चुनावी नतिजाले बताउने छ ।

मुगल र बेलायती औपनिवेशिक कालमा भारतीय संस्कृति, सभ्यता र संज्ञानमाथि गरिएकोे दमनको प्रतिरोध प्रस्फुटित भइरहेको छ । भारतको चुनाव भारतीय संज्ञान र लोकतन्त्रका एथेन्स, ग्रीस हुँदै पश्चिमा वैचारिकीको शास्त्रार्थको एक महामञ्च हुन पुगेको छ । सत्य दुवैतिर छ । तर्क दुवैतिरका बलशाली छन् । चुनावले नागरिक वैचारिकी स्थापित गर्नेछ ।

भारतीय राष्ट्रिय कंग्रेस वा उसका सहयोगी दलहरू अम्बेडकरले निर्माण गरेको संविधानलाई भारतीय वैचारिकी मान्दछन् । धर्मनिरपेक्षता संरक्षण उनीहरूको राजनीतिक अभीष्ट र न्यायप्रतिको प्रतिबद्धता हो । तर, बाबा अम्बेडकरले नेतृत्व गरेको संवैधानिक समितिले प्रस्ताव गरेको संविधानमा धर्मनिरपेक्षता राखिएको थिएन । यो अवधारणा सन् १९७६ मा ल्याइएको हो ।

भारतीय चुनावको नेपालमा प्रभाव

माथि भनिएको छ— आकलन कठिन छ । कि त बीजेपी कि इन्डिया गठबन्धनले चुनाव जित्छ । साना दलहरूले चुनाव जित्ने सम्भावना छैन । भारतीय मतदाताहरू सहजै चुनाव चिह्न परिवर्तन गर्छन् र मत दिन्छन् । प्रदेशस्तरमा बलिया दलहरू पनि लोकसभाको निर्वाचनमा कमजोर हुन पुग्छन् ।

त्यसको कारण के छ भने, प्रदेशस्तरीय दलहरूलाई मतदान गरेर केन्द्रीय सरकार बन्न सक्दैन भन्ने मनोविज्ञानले काम गरेको हुन्छ । यसैले भनिएको हो, भारतीय मतदाताहरू निर्वाचन चिह्नमा अडिग रहँदैनन्, आवश्यकताको सिद्धान्तलाई महत्व दिन्छन् । उदाहरणका लागि पश्चिम बंगालको विधानसभा र पश्चिम बंगालबाट लोकसभामा प्रतिनिधित्वलाई लिन सकिन्छ ।

समाजका प्रत्येक तप्का चुनावको आकलनमा व्यस्त छन् र राजनीतिक वैचारिकी अनुसार नतिजाको अपेक्षा गरिरहेका छन् । भारतमा बीजेपीले फेरि चुनाव जित्ने र सरकार बनाउने कुरामा कुनै द्विविधा छैन । भारतीय समाज हिन्दुत्व वा सनातनप्रति मुखर भएर आइरहेको छ, भारतमा सनातनी वा हिन्दु चुनावी माहोल तयार भएको छ । चुनावी मनोविज्ञानका अध्येताहरू पनि भारतमा मनोवैज्ञानिक पक्ष नै हावी हुने तर्क गरिरहेका छन् । जागृत सनातनी मनोविज्ञानले भारतको सभ्यता, इतिहास, संस्कृति, आचरण, प्रवृत्ति र चरित्रहरूमाथि बढी ध्यानाकर्षण भएको छ ।

जर्ज एच स्याविन र थोमस एल थोर्सोनले ‘अ हिस्ट्री अफ पोलिटिकल थ्यौरी’मा ‘पोलिटिकल थट विफोर प्लेटो’ शीर्षकमा राजनीतिक इतिहास खोतलेका छन् । सनातन दर्शनमा राजनीतिलाई व्यक्तिका नैतिक मूल्यको कसीमा विवेचना गरिएको छ र त्यो ‘राजनीति विफोर प्लेटो’ पनि हो । आजको भारतमा पुरानो दर्शनका अध्यायहरूमा नयाँ तवरले विशद् विवेचना हुन थालेको छ ।

नेपालले भारतीय चुनाव त्यसले स्थापना गर्ने दार्शनिकी वा वैचारिकी, त्यो वैचारिकी वा दार्शनिकीको प्रसारणका प्रभावहरूमा ध्यान दिनु श्रेयस्कर हुनेछ । ३१ मार्च २०२३ को न्यूज १८ को अनलाइन संस्करणमा ‘विक्रम संवत् किन भारतको राष्ट्रिय पात्रो हुन सकेन ?’ शीर्षकमा लामो रिपोर्टिङ छापिएको छ । विक्रम संवत् २०८० को नयाँ वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय देशवासीलाई दिएको शुभकामनालाई आगामी दिनको संकेत भन्ने अर्थ लाग्ने गरी त्यहाँ न्युज छापिएको छ । यसले पनि परिवर्तनको संकेत देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्