१७ पुष २०८२, बिहीबार
सूचना प्रविधि

ट्वीटरलाई चुनौती दिँदै मेटाले ल्यायो थ्रेडस एप, २ घण्टाभित्रै २० लाखले गरे साइन अप

२१ असार, काठमाडौं। ट्वीटरलाई चुनौती दिँदै फेसबुकको मातृ कम्पनी मेटाले बिहीबार  थ्रेडस मोबाइल एप सार्वजनिक गरेको छ । उक्त एप इन्स्टाग्रामसँग आबद्ध भएको छ ।

सार्वजनिक भएको २ घण्टाभित्रै २० लाखले थ्रेड्स एपमा साइन अप गरेका छन् । यसमा इन्स्टाग्राममा भएका साथीहरूलाई फ्लो पनि गर्न सकिने छ ।

मेटाले थ्रेड्स एप एउटा टेक्स्टमा आधारित संवाद एप भएको जनाएको छ । स्क्रिनग्रयाब्सले सार्वजनिक गरेको स्क्रिनसटमा थ्रेड्सको ड्यासबोर्ड पनि ट्वीटरको जस्तै देखिएको छ ।

ट्वीटरको प्रतिस्पर्धीको रुपमा थ्रेड्स एप ल्याउने मेटाको कदमलाई पछिल्लो समय मार्क जुकरबर्ग र एलन मस्कबीचको प्रतिद्धन्दिताको पछिल्लो कडीको रुपमा लिइएको छ ।

स्मरण रहोस् पछिल्लो महिना यी दुईबीच कुस्ती खेल्ने सहमति भएको थियो, यद्यपि उनीहरु दुबैजनाले साँच्चीकै गम्भीर भएर कुस्ती खेल्ने हुन् वा होइनन् त्यो भने खुलेको छैन ।

थ्रेड्स एप सार्वजनिक भएको विषयमा पनि मस्कले कटाक्ष गरेका छन् र यो एपबाट पनि मेटाले प्रयोगकर्ताका सबै डाटा संकलन गरेर प्रयोग गर्ने आरोप सांकेतिक रुपमा लगाएका छन् ।

उता ट्वीटरले भने ट्वीटर प्रयोगकर्ताका डाटाहरु अन्य पक्षले प्राप्त गर्नबाट रोक्नका लागि अनेक उपाय अपनाइरहेका छन् । पछिल्लो पटक उनले दैनिक ८ सय सम्ममात्रै ट्वीट पढ्न सकिने नियम लागू गर्ने घोषणा गरेका छन् ।

उता मेटाको थ्रेड्स एप नि:शुल्क हुने र प्रयोगकर्ताले हेर्न सक्ने पोस्टहरुको संख्यामा पनि कुनै बन्देज नहुने प्रष्ट छ । एप स्टोरमा थ्रेड्सका बारेमा दिइएको जानकारीमा भनिएको छ,’ आज के कुराको चासो छ र भोलि के कुरा चर्चामा आउने छ भन्ने लगायत मानिसहरुले गर्ने छलफलमा थ्रेड्स रहनेछ ।’

पछिल्लो समयमा डोनाल्ड ट्रम्पको ट्रुथ सोसल देखि मास्टोडन र ब्लू स्काईलगायतका विभिन्न सोसल मिडिया प्लाटफर्महरु ट्वीटरको प्रतिस्पर्धीको रुपमा अगाडि आएका छन् ।

मेटाले थ्रेडलाई एउटा छुट्टै एपको रुपमा ल्याएको भए पनि यो एप इन्स्टाग्राम अकाउन्टमा आधारित छ ।

इन्स्टाग्रामका प्रमुख आदम मोसेरीले एलन मस्कले ट्वीटरको “अस्थिरता” र “अनिश्चितता” बीच दिएको चुनौतीका कारण यो प्रतिस्पर्धा सुरु भएको बताएका छन् । एक अन्तर्वार्तामा मोसेरीले भनेका छन्, ‘सोझै दृष्टान्त दिंदै वर्षौंदेखि ट्वीटर जुन किसिमको प्रयोजनका लागि परिभाषित भएको छ, थ्रेड पनि त्यस्तै किसिमले सार्वजनिक सम्वादका लागि डिजाइन गरिएको हो।’

मोसेरीले थ्रेड डाउनलोड गर्नुपर्ने एउटा नयाँ एप भएकाले एक चुनौतीपूर्ण प्रयास भएको बताएका छन् । तर मेटाले इन्स्टाग्राम अकाउन्टलाई सजिलै थ्रेडमा उतार्न सकिने बनाएको छ ।उनले भनेका छन्, ‘निश्चित रुपमा यो स्थानमा ट्वीटर अग्रगामी नै हो। तर हामीले इन्स्टाग्राम अकाउन्टलाई सजिलै थ्रेडमा उतार्न सकिने बनाए छौं।’

जसमा अकाउन्ट सम्बन्धी जानकारीका साथै इन्स्टाग्राममा फलो गरिएका हरूको सूची समेत रहेको छ । यसले तत्कालै थ्रेड अकाउन्ट तयार पार्न सकिने बनाएको छ ।

खास तवरमा थ्रेड ट्वीटर जस्तै छ। एपको मुख्य फिडमा इन्स्टाग्रामको एल्गोरिदमले सुझाएका साथै फलो गरिएका अकाउन्टका पोस्टहरू देखिन्छन् । त्यस्ता पोस्टहरूलाई तपाईंले रिपोस्ट गर्न सक्नु र त्यसमा कमेन्ट गर्न हुन्छ ।

हाल थ्रेडमा फोटो तथा पाँच मिनेट लामो भिडिओ सहित ५०० क्यारेक्टर लामो पोस्ट गर्न सकिन्छ । तत्कालका लागि त्यसमा कुनै विज्ञापन भने छैनन् । साथै ट्वीटरमा जस्तो पैसा तिरेर भेरिफिकेसन लिनुपर्ने स्किम पनि छैन ।

थ्रेडलाई गहिरो गरी इन्स्टाग्राम अकाउन्टसँग गाँसिएकाले थ्रेडमा गरेको पोस्टलाई तुरुन्तै इन्स्टाग्रामको स्टोरी तथा फिडमा राख्न सकिन्छ । यो एप प्रारम्भिक चरणमा विश्वका १०० देशमा उपलब्ध भए पनि युरोपमा भने छैन । त्यहाँको डेटा सम्बन्धी कानूनले गर्दा हाल युरोपमा यो एप उपलब्ध नभएको बताइएको छ ।

स्मरण रहोस् मेटाको रिल्सले टिकटकलाई राम्रो टक्कर दिइरहेको छ भने फेसबुक स्टोरीज स्नापच्याट जस्तै रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक