१२ श्रावण २०८१, शनिबार
अर्थ

डिजिटल उद्यमशीलतालाई प्रोत्साहनको खाँचो, युवा पलायन मुख्य समस्या

९असार, काठमाडौं।नेपालमा डिजिटल अवसर र उद्यमशीलतालाई बढावा दिन युवा जनशक्तिलाई रोक्‍न प्रोत्साहनको खाँचो रहेको सरोकारवालहरुले बताएका छन्।

द सोल्टी काठमाडौंमा भइरहेको ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२३को दोस्रो दिनको पहिलो सेशनका वक्ताहरुले नेपालमा डिजिटल अवसरहरु विकासका पुर्वाधारहरु पर्याप्त भए पनि युवा दक्ष जनशक्ति दिनप्रतिदिन पलायन भइरहेकाले रोक्न प्रोत्साहनको खाँचो रहेको बताएका हुन् ।  

कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले

युवाहरूले देशभित्र भविष्य देख्न नसकिरहेका कारण दिनप्रतिदिन विदेशिन बाध्य भएको बताए।

उनले भने, ‘युवाहरूले देशभित्र भविष्य देख्न सकिरहेका छैनन्। विद्यार्थीहरू की विदेशिएका छन् की स्वदेशमा रोजगारी नपाएर भौतारिरहेका छन्।’

उनले नेपालमै भविष्य देखाउने बाटो नै युवाहरुलाई डिजिटल उद्यमशीलतामा लैजान सरकारले नीति बनाउनुपर्नेमा जोड दिए । ‘ नेपालमै भविष्य देखाउन बाटो भनेको उद्यमशीलता हो,’ उनले भने, ‘सरकारको नीति डिजिटल उद्यमशीलतामा केन्द्रित हुनुपर्छ। सरकार र निजी क्षेत्रसँगसँगै अगाडि बढ्नुपर्छ।’

यसैगरी नेपालमा डिजिटलको क्रान्ति अझै राम्रोसँग हुन नसकेको र विकासका पूर्वाधारहरुको अधिकांश क्षेत्रमा इन्नोभेसन गर्नै बाँकी रहेको आइएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले बताए ।

उनले भने, ‘हामीमा एउटा स्वभाव कस्तो छ भने हामी अरुले गरेको देखेर लहैलहैमा लागिरहेका छौं। आफ्नो आइडिया, इन्नोभेशन गर्न सकेका छैनौ। हामीसँग शिक्षा, स्वास्थ्य, यातायत, इन्सुरेन्सलगायतका क्षेत्रमा इन्नोभेशन गर्नै बाँकी छ।

नेपालमा प्रडक्ट बनाएर नेपालमै बिक्री  गरे पनि काम गर्ने शैली र प्रवृति निक्कै कमजोर रहेको उनको भनाइ छ । उनले सबै व्‍यक्ति एउटै क्षेत्रमा लागेर नहुने भन्दै फरक फरक क्षेत्रमा इन्नोभेस र अवसरहरु खोज्‍नुपर्ने बताए । उनले भने, ‘अवसरहरु नयाँ इन्नोभेशन गरेर ल्याउने हो। पछाडि लागेर होइन। विकासका पूर्वाधारहरु अझै पनि बाँझै छ। तर, हामीसँग खोज्‍ने संस्कार छैन। इन्नोभेसन फराकिलो हुनुपर्छ। सबै व्यक्ति एउटै क्षेत्रमा लागेर हुँदैन। उद्यमशीलता सजिलो छैन। आजको भोलि केही हुँदैन्। समय लाग्छ।

उनले आइएमई ग्रुपले प्रविधिको इकोसिस्टम काम गरिरहेको र त्यसै अनुसार आईटी स्टार्टअपमा लगानी पनि गरिरहेको जानकारी दिए । ‘आईएमई ग्रुपले प्रविधिको इकोसिस्टम काम गरिरहेको छ र त्यसै अनुसार आईटी स्टार्टअपमा लगानी पनि गरिरहेको छ।’

साथै उनले स्टार्टअप उद्यम र युवाहरुलाई विदेश पलायनबाट रोक्न प्रोत्साहन र मेन्टरसीपको खाँचो अति जरुरी रहेको बताए ।

‘युवा र स्टार्टपलाई मेन्टरसीपको एकदमै जरुरी छ। इन्नोभेशन गर्दा पीपीपी मोडेल लागु गर्न सक्‍नुपर्छ। साथै कर्पोरेट सेक्टरले युवाहरुको इन्नोभेशनहरुलाई प्रोत्साहन गर्न सक्नुपर्छ। राम्रो बनाउन स्टार्टअपका कम्पनीहरुले हार्डवर्क गर्नतिर ध्यान दिनुपर्छ।

यता, यार्सा टेकका संस्थापक एनजे सुवेदीले डिजिटल रुपान्तरणका लागि सफ्टवेयरको मात्रै कुरा नभएर हार्डवेयरको पनि प्रवर्द्धन गर्न जरुरी रहेको बताए।

 ‘डिजिटल रूपान्तरणका लागि हामी सफ्टवेयरको मात्रै कुरा गरिरहेका छौं। हार्डवेयरको कुरा गरिरहेका छैनौं, उनले भने, ‘हार्डवेयरमा कसैको ध्यान नै छैन। सधैभरी भारत चिनबाट सामान ल्याएर हुँदैन। आफैले उत्पादन गर्न सक्नु पर्छ।’

तर हार्डवेयर नेपालमै बनाउने राज्‍य, सरकार र निजी क्षेत्रसँग मानसिकता नै नभएको उनको गुनासो छ। उनले भने, ‘ हामी हार्डवेयर भन्‍ने वित्तिकै बाहिरबाट मगाउने मानसिकता छ। हार्डवेयर नेपालमै बन्छ भन्ने मानसिकता नै छैन। त्यसकारण नेपालमा हार्डवेयरको इकोसिस्टम विकास गर्न जरूरी छ।’

यस्तै सूचना प्रविधि र उद्यमशीलताको क्षेत्रमा धेरै अवसर धेरै भए पनि नेपालको शिक्षा प्रणालीमा पनि ठूलो खाँडल रहेको कोड हिमालयका सीईओ स्मरण दुवाडीले दाबी गरे ।

उनले भने, ‘ सूचना प्रविधि र उद्यमशीलताको क्षेत्रमा धेरै अवसर छन्। तर नेपालको शिक्षा प्रणालीमा पनि ठूलो खाँडल छ।’

उनले सूचना प्रविधिमा इन्नोभेसन गर्दा नेपाललाई मात्रै नभएर नेपालभन्दा बाहिर विश्वभर पनि बजार छ भन्‍ने सोच्नु पर्ने बेला आइसकेको बताए । साथै प्रविधिमा विकास गर्न भौगोलिक अवस्थाले कुनै असर नपार्ने जिकिर गरे ।

‘संसाररै हल्लाउन इन्नोभेसन हुनुपर्छ भन्ने छैन। तर इन्नोभेसन गर्दा नेपालभन्दा बाहिर पनि सोच्नुपर्छ। नेपालको लागि मात्र इन्नोभेसन गर्नु हुँदैन,’ उनले  ‘प्रविधिलाई कुनै भौगलिक अवस्थाले छैक्दैन। नेपालमै बसेर विश्वको काम गर्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्