बागमती
मुख्य समाचार
समाचार
रामेछाप । नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपालमा अस्थिरता मच्चाउन चाहने शक्तिले भदौ २३ र २४ को घटना गराएको बताएका छन् । नेकपा एमाले रामेछाप सुनापति गाउँपालिका कमिटीले मङ्गलवार साँदीडाँडामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै चौलागाईँले नेपालमा स्थिरता हुन नदिने शक्तिले कांग्रेस र एमाले मिलेर देशलाई स्थिरता र स्थायित्व दिन लागेपछि त्यसलाई भाँड्न सो घटना गराएको बताए । ‘केपी ओलीको विकास प्रतिको प्रतिबद्धता र राष्ट्रियता प्रतिको समर्पण नै भदौ २३–२४ को घटनाको कारण हो, बाह्य शक्तिले यहाँका राष्ट्रवादीलाई गरिरहेका छन्, प्रहारको निशाना अहिले केपी ओली र एमाले बनेको छ’, उनले भने । चौलागाईँले अमेरिकन एम्बेसीले नेपालमा बालेन साह, सुदन गुरुङ जस्ता पात्र जन्माएको बताए । तिनै पात्रहरूलाई प्रयोग गरेर देश जलाउने काम गरिएको उहाँको धारणा छ । नेपाल कसैले धम्क्याएर धम्किँदैन भनेर शिर उठाएर कुरा गर्ने नेता केपी ओली भएका कारण उहाँ माथि यो आक्रमण भएको चौलागाईँको भनाई छ । यत्तिको आँट नेपालका राजा महाराजाहरूले समेत कहिल्यै पनि नराखेको चौलागाईँको दाबी छ । नेपालको सेना, प्रहरीलाई समेत निष्क्रिय बनाएर भदौ २३ र २४ को घटना गराइएको उनले बताए । जेनजीको सामान्य माग भित्र बारबरा फाउण्डेसन तथा तिब्बतीयन ब्लडग्रुप समेत घुसेर आन्दोलन कब्जा गरेको उनले सुनाए । ब्यारिकेट समेत नराखेर प्रहरीका उच्च अधिकारी समेत सो हिंस्रक जत्थासँग मिलेका उहाँले दाबी गरे । ‘अबोध बालबालिकाको काँधमा बन्दुक राखेर गोली पड्काइयो, बाह्य शक्तिको आडमा यो सबै षडयन्त्र भयो’, उनले भने । अहिलेको सबै घटनाक्रम जेनजीका कारण नभएको उनको दावी थियो । अहिले जो सरकारमा पुगे विदेशीको डिजाइन अनुसार उनीहरूकै योजनामा सो घटना भएको चौलागाईँको भनाइ छ । एमालेकै केही नेताहरू विदेशीसँग मिलेर केपी ओलीले पार्टी अध्यक्ष छाड्नुपर्छ भन्दै हिँडेका चौलागाईँले बताए । बाह्य षडयन्त्रबाट सो घटना भएको पर्दा खुल्दै गएपछि अहिले पार्टी बाहिरकाले समेत ओली ठिक रहेछन् भनेर भन्न लागेका उनले सुनाए । उनले पार्टीको आउने महाधिवेशनबाट ओली नै पार्टी अध्यक्ष हुनेपनि बताए ।