Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायतका छोराछोरीलाई सामूदायिक विद्यालयमा नै पढाउनुपर्ने

News and Updates
7 घण्टा अघि

रामेछाप । रामेछापमा सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका छोराछोरी सामूदायिक विद्यालयमा नै पठनपाठन गराउनुपर्ने आवाज उठेको छ । सदरमुकाम मन्थलीमा आयोजित शैक्षिक क्षेत्र सुधार सम्बन्धी कार्यक्रममा सहभागीहरुले सो विषयमा प्रतिवद्धता पनि जनाएका छन् ।

 

रामेछापको शैक्षिक क्षेत्र सुधारको लागि जारी गरिएको पाँच बुँदे साझा घोषणापत्रमा पनि उक्त विषय समावेश गरिएको छ । सहभागीहरुले ‘हामी सुधार्छौं हाम्रो विद्यालय’को नारालाई साकार पार्ने प्रतिबद्धता पनि जनाए ।

 

 

सिकाइ केन्द्रित पठन पाठन गर्ने, नियमित विद्यालय उपस्थिति र पठन पाठनमा कडाइ गर्ने, पठनपाठनमा आधुनिक प्रविधिको प्रयोगका लागि प्रोत्साहित गर्ने प्रतिबद्धता सहभागीले गरेका छन् ।

 

 

सो क्रममा शिक्षा गुणस्तर सुधारको लागि अभिभावकसँगको सहकार्य बढाउने, कम्तीमा वर्षमा दुई पटक अभिभावक भेला राख्ने तथा सबै बालबालिकाको व्यक्तिगत फाइल खडा गरी अभिभावकसँग नियमित सम्पर्कमा रहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

 

 

विद्यालयमा स्वच्छ खानेपानी, उपयुक्त शौचालय, प्रयोगशाला, पुस्तकालय, खेल मैदान लगायतको उचित व्यवस्थापन गर्ने, विद्यालयको भौतिक सुधारको लागि स्थानीय समुदायसँग समन्वय, सहभागिता र सहकार्य गर्ने घोषणापत्रमा उल्लेख छ ।

 

 

शिक्षा व्यवस्थापनमा उत्तरदायित्व र पारदर्शीता कायम गर्न विद्यालयका सबै गतिविधि सार्वजनिक गर्ने, सहभागितामूलक योजना निर्माण, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने, विद्यार्थी र अभिभावको क्रियाशीलता बढाउने खालका कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता पनि भेलामा व्यक्त गरिएको छ ।

 

 

सो क्रममा शैक्षिक सुधारका लागि मन, वचन र कर्मले लाग्ने प्रतिबद्धता व्यक्त गर्दै जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका छोराछोरी सामुदायिक विद्यालयमा नै पठन पाठन गर्ने प्रतिबद्धता पनि सहभागीले गरेका छन् ।

 

 

शिक्षकको तलबबाट कट्टा हुने गरी प्रत्येक शिक्षकलाई ल्यापटप उपलब्ध गराउने, विद्यार्थीले उत्पादन गरेको सामाग्री स्थानीय तहले खरिद गरिदिने गरी स्थानीय उत्पादनमूलक शिक्षामा जोड दिने, स्थानीय अभिभाव तथा समाजसेवीलाई विद्यालयमा अतिथि शिक्षकको रूपमा सहभागी गराउने, शिक्षक कर्मचारी विद्यालय समय भित्र कुनै पनि राजनीतिमा सहभागी नहुने, परियोजनामा आधारित शिक्षण सिकाइमा जोड दिने, शिक्षक, विद्यार्थी अभिभावक आचार संहिताको पूर्ण पालना गर्ने, विषयगत योजना निर्माण र कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

 

 

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालद्वारा आयोजित कार्यक्रममा शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, स्थानीय शासन विज्ञ सोमत घिमिरे, शिक्षाविद् डा बलराम तिमिल्सिना र सामुदायिक विद्यालय व्यवस्थापन समितिका महासंघका अध्यक्ष गुणराज मोक्तान लगायत सहभागी थिए ।

 

 

कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतलगायतका जनप्रतिनिधि, जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत अभिभावकहरू सहभागी थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया