काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा ११ दिने औपचारिक भारत भ्रमण सकेर स्वदेश फिर्ता भएकी छिन् ।
शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै भारतमा हुँदा हाल नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कुटनीतिक प्रयास गरेको बताइन् ।
उनले भनिन्,‘भारतमा हुँदा मैले हाल नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कुटनीतिक प्रयास गरें । भ्रमणका क्रममा भएको दुई पक्षीय भेटवार्ताको क्रममा मानव अधिकार परिषद्मा नेपालको २०२७ देखि २०२९ सयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद्मा २०२९ देखि २०३१ तथा सयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा २०३७देखि ०३८ का लागि नेपाललले दिएको उमेद्वारी बारे पनि नेपालको समर्थनका लागि आग्रह गरेको छु । प्रतिक्रिया पनि सकारात्मक आएको छ ।’
उनले भारतको विदेश मन्त्रालयको सहयोगमा ओआरएफले आयोजना गरेको राइसिना डायलगमा सहभागी भएको पनि जानकारी गराइन ।
डायलगको क्रममा उनले भारतीय विदेश मन्त्री डा.एस जयशंकर सँग पनि भेटवार्ता गरेकी थिइन् । उनी मार्च १० तारिख भारत भ्रमणमा गएकी थिइन् । राइसिना डायलगमा सहभागी हुनुअघि उनी भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पुगेर पूजाआजा समेत गरेकी थिइन् ।
भारत भ्रमण उपलब्धिमूलक रहयो, विद्युतका बारेमा पनि कुरा गरें : परराष्ट्रमन्त्री







