११ पुष २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

बेमौसमी वर्षात्ले पर्वतमा धानबालीमा क्षति

२० कात्तिक, पर्वत । जिल्लाका विभिन्न क्षेत्रमा सोमबार दिउँसो परेको बेमौसमी वर्षाका कारण थन्क्याउने तयारी भएको धानबाली र परालमा क्षति पुगेको छ ।

सोमबार दिउँसो परेको वर्षाले खेतमा लटरम्म पाकेको धान झारेको छभने काटेर सुकाएको निहिन र पराल पूरै डुबाएको किसानले गुनासो गरेका छन् । जिल्लाको फलेवास, महाशिला, विहादी, जलजला, मोदी र पैयूँ गाउँपालिकाका अधिकांश स्थानका किसानले तिहार सकिएलगत्तै धान भित्र्याउने तयारी गरेका थिए ।

कतिपयको तिहार अघिदेखि काटेर सुकाएको र कतिपयको सोमबार बिहान काटेको धान नष्ट गरेको मोदी गाउँपालिका–२ देउपुरका प्रकाश चापागाईँले जानकारी दिए । धान थन्क्याइसकेका किसानले दाइँ हालेर टौवा बनाउने तयारी गरेका बेला पराल रुझेको गुनासो गरेका छन् । रुझेको पराल कुहिएमा गाईभँैसीले नखाने भएकाले केही दिन लगातार सुकाउनुपर्ने समस्या भएको ठुलीपोखरीका किसान रामप्रसाद सापकोटाले बताए ।

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत शङ्कर पौडेलले जिल्लाका सबैजसो पालिकामा थन्क्याउने तयारी गरेको धानमा वर्षाले नोक्सानी पुर्याएको बताए । यसअघि यही कात्तिक ६ गते पनि असिनापानी पर्दा क्षति भएको थियो । त्यतिबेला बचेको धान अहिले थन्क्याउने बेलामा फेरि असर गरेको उसको भनाइ छ । क्षतिको यकिन विवरण सङ्कलनको काम भइरहेको उसले बताए ।

धान पर्वतको मुख्य बाली हो । पटकपटक आएको असिना र भारी वर्षाले धानबालीमा क्षति पुर्याएपछि यसपटक उत्पादनमा पनि कम हुने भएको छ । रोप्ने बेलामा मौसम अनुकूल परेका कारण यस वर्ष उत्पादन बढ्ने आकलन गरिएको भए पनि अहिले क्षति पुगेको कार्यालयले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि