हातखुट्टा र अनुहारमा मुसा आउँदा दुख्दैन । यो मुसाको आकारमा कुनै परिवर्तन आएन भने हानि पनि गर्दैन । यस्तो मुसा आउनु सामान्य हो ।
तर त्यस्तै देखिने मुसा यौनाङ्ग र त्यस वरपर आएमा सामान्य रुपमा लिनु हुँदैन । किनकि यी मुसालाई सामान्य मान्न सकिंदैन ।
किन यौनाङ्गमा मुसा पलाउँछ ?
ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) युक्त यौनजन्य संक्रमणका कारण यौनाङ्गमा मुसा आउन सक्छ । एचपीभीको सम्पर्कमा आएपछि यौनाङ्गमा देखिन महिनौं वा एक वर्ष पनि लाग्न सक्छ । एचपीभीका सयभन्दा बढी उपसमूह छ, जसमध्ये ४० वटा उपसमूहले यौनाङ्ग क्षेत्रलाई प्रभावित गर्न सक्छ ।
यो भाइरस असुरक्षित यौन सम्पर्कबाट एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ । यो मुसा भएको व्यक्तिसँग यौन सम्पर्क गर्नेमा पनि मुसा सर्न सक्छ ।
यस्ता मुसा आउँदैमा आत्तिनु पर्दैन । किनकि यसको उपचार शतप्रतिशत सम्भव छ । तर समयमा उपचार नगराए यसले कहिलेकाहीं क्यान्सरको रुप लिन सक्छ ।
कसलाई जोखिम ?
– ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्ध खोप नलगाउनु
– कण्डम विना यौन सम्बन्ध राख्नु
– एकभन्दा बढीसँग यौन सम्बन्ध राख्नु
– अन्य यौनजन्य संक्रमण पनि हुनु
– पहिलेको यौन सम्बन्धको प्रष्ट जानकारी थाहा नभएको व्यक्तिसँग सम्बन्ध बनाउनु
– कम उमेरमै यौन क्रियाकलापमा सक्रिय हुनु
– मुसा भएका व्यक्तिले प्रयोग गरेका ‘सेक्स टोय’हरू प्रयोग गर्नु
– यौनाङ्गमा मुसा भएको अवस्थामा मुखमैथुन गर्दा ओठ, जिब्रोसँगै मुखभित्र पनि मुसा आउन सक्छ ।
– प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, गर्भवती, यौन प्रसारित रोगबाट संक्रमित, क्यान्सरको समस्या भएकाहरु यसको बढी जोखिममा हुन्छन् । उनीहरुमा मुसा आएको खण्डमा तुलनात्मक रुपमा मुसा ठूलो र छिटो बढ्ने हुन्छ ।
– एचआईभी विरुद्ध औषधि खाइरहेका तथा अंग प्रत्यारोपणपछि स्टेरोइड लगायत औषधि खाइरहेका बिरामी एवं यौनाङ्गमा मुसा भएको अवस्थामा मुखमैथुन गर्दा ओठ, जिब्रोसँगै मुखभित्र पनि मुसा आउन सक्छ ।
कुन भागमा मुसा देखिन्छ ?
मुसा विशेषगरी महिलाको योनीको माथिल्लो भाग, योनीभित्र, पाठेघरको मुखमा देखिने गर्छ । त्यस्तै, पुरुषको हकमा लिङ्ग र अण्डकोषमा बढी देखिने गर्छ ।
लक्षण
– छाला वा अन्य रङको यौनाङ्गमा सानो खालको बिमिरा पलाउनु
– काउली जस्तो आकार देखिनु
– चिलाउनु र असहज अनुभव हुनु
– यौन सम्पर्क गर्दा रगत बग्नु
कति बेला अस्पताल जाने ?
मुसा आएको छैन तर मुसा भएको साथीसँग यौन सम्बन्ध भएमा, मुसा देखिएमा जतिसक्दो चाँडो छिटो देखाउनुपर्छ ।
पहिचान तथा उपचार
मुसाको प्रकृति हेरेर सहजै मुसा आएको थाहा हुन्छ । अन्य यौनरोगको शंका भएमा प्याप र रगत परीक्षणबाट हुन्छ । मुसा भएको पुष्टि भइसकेपछि अवस्था हेरेर त्यसको उपचार हुन्छ ।
यदि मुसाहरु कम मात्रामा र सानो आकारको छन् भने लिक्विड नाइट्रोजन नामक चिसो ग्यासले सेकिन्छ । यसले घाउ नबनाई सुरक्षित तरिकाले भाइरसलाई जमाउँछ । अर्को भनेको मुसामा लगाउने मलम वा केमिकल एसिड प्रयोग गर्न सकिन्छ । चिकित्सकको निर्देशन सीमित मात्रामा सही ढंगले लगाउनुपर्ने हुन्छ ।
तर चिकित्सकलाई योनाङ्गको मुसा देखाउन संकोच मानेर आफैं सुनेको भरमा मनलाग्दी ओभर द काउन्टर किनेर लगाउनु हुँदैन । यसरी लगाएमा एलर्जी गराउने, संक्रमण बढ्ने र अन्य लगायतको घातक नतिजा देखापर्न सक्छ ।
त्यस्तै, एक सेन्टिमिटरभन्दा बढी भएमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । शल्यक्रियामा मुसा पोलेर फाल्ने र लेजर प्रविधिबाट गरिने सामान्य शल्यक्रिया हुन्छन् ।
यसरी उपचार गर्दा ९९ प्रतिशत निको हुने सम्भावना रहन्छ । यी विधिबाट पनि निको भएन र बारम्बार दोहोरिरह्यो भने मुसा आएको भाग नै शल्यक्रिया गरेर निकाल्नुपर्ने हुनसक्छ । तर यस्तो अवस्था विरलै आइपर्छ ।
‘जथाभावी उपचार नगराऔं’
यौनाङ्गमा मुसा आएपछि अत्तालिएर लुकाउन खोज्ने र उपयुक्त स्थानमा जानुको सट्टा जथाभावी उपचार गराएको पाइन्छ । जस्तो कि चाइनिज, होमियो प्याथी विधिको प्रयोग । यस्तो विधिबाट ठीक हुनुको साटो उचित उपचार नभई जटिलता अझै बढेको केसहरु थुप्रै छन् ।
कतिपय स्थानमा त कोठी जस्तो देखिने घाउको समेत मुसा भनेर अनावश्यक गलत उपचारको सिकार भएकाहरु पनि देखिन्छ ।
यसको प्रमुख कारण जनचेतनाको अभाव हो । जथाभावी उपचार गराउनुको साटो शंकास्पद केही समस्या देखिए सम्बन्धित दक्ष चिकित्सकलाई मात्र देखाउँदा समय, खर्च र समस्याको छिटो समाधान हुन्छ । चिरफार नगरी पनि सामान्य उपचारले ठीक हुन्छ ।
जटिलता
यो मुसा छिटो फैलिएर योनाङ्ग र मलद्वारको वरपर ढाक्ने हुनसक्छ । यस्तोमा दिसा तथा पिसाब गर्दा र यौन सम्पर्क गर्दा दुख्ने, पोल्ने जस्ता समस्या देखा पर्छन् ।
कसरी बच्ने ?
– किशोरावस्थादेखि नै एचपीभीको खोप लगाउने
– सुरक्षित यौन सम्पर्क गर्ने र एकभन्दा बढी यौनसाथी नबनाउने
– मुसाजस्ता शंकास्पद कोठी देखिए तुरुन्त परीक्षण गराउने ।
थप समाचारहरु
झुसिलकिरा मार्ने ढुसी, जसले रोक्नेछ मानिसमा क्यान्सर
स्वास्थ्य क्षेत्रमा फड्को मार्दै सिञ्जा
 ‘पहिले अस्पताल त्यसपछि स्वास्थ्य विज्ञान विश्वविद्यालय’
प्राथमिक उपचारसम्बन्धी तालिम सम्पन्न
मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै
गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास
        
																																		
