२३ भदौ, काँक्रेविहार (सुर्खेत) । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ ।
गएरातिको पहिरोमा घरसँगै परी चलाउने दम्पती पुरिएका थिए । पहिरोमा पुरिएकाको खोजी गर्ने क्रममा चलाउने दम्पतीको शव फेला परेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए। मृतक चलाउनेकी घाइते ११ वर्षीया छोरी सम्झनालाई उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा हेलिकप्टरमार्फत पठाइएको उनले बताए ।
शव लिम्सास्थित गाउँपालिकाको आधारभूत अस्पतालमा ल्याएर कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । “प्रेमकुमारी बारेकोट गाउँपालिका–६ की वडा सदस्य हुन् भने मानबहादुर नेकपा (माओवादी केन्द्र) बारेकोट गाउँ कमिटीका सदस्य थिए”, उनले भने ।







