Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अमेरिकासँगको वार्तामा ताइवान र सुरक्षाबारे ‘गम्भीर चासो’ व्यक्त गर्ने चीनको भनाइ

रासस
9 महिना अघि

९ भदौ, अमेरिका । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आगामी अगस्ट २७ देखि २९ सम्म गर्ने चीन भ्रमणमा चीनले आफ्नो चासोका बिषयलाई गम्भीररूपमा राख्ने बताएको छ । संयुक्त राज्य अमेरिकासँगको आगामी वार्तामा ताइवान र अन्य सुरक्षा विषयमा ’गम्भीर चिन्ता’ व्यक्त गर्ने चीनको योजना रहेको चीनको राष्ट्रिय सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सरकारी प्रसारक सीसीटीभीले भनेको छ, “वार्तालाई चीनले ताइवान मुद्दा, विकासको अधिकार र चीनको रणनीतिक सुरक्षाका सम्बन्धमा कडा माग गर्न प्रयोग गर्नेछ ।” सुलिभानले नोभेम्बरमा हुने अमेरिकी चुनावअघि तनाव व्यवस्थापनका लागि चीनका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नेछन्।

सन् २०१६ पछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारको यो पहिलो चीन भ्रमण हो, यद्यपि विदेशमन्त्री एन्टोनी ब्लिन्केनलगायत अन्य वरिष्ठ अधिकारीहरूले विगत दुई वर्षमा चीनको भ्रमण गरेका छन् । “ताइवान मुद्दा अमेरिका–चीन सम्बन्धमा विवादको पहिलो रातो रेखा हो र ‘ताइवानको स्वतन्त्रता’ ताइवान स्ट्रेटमा शान्ति र स्थिरताका लागि सबैभन्दा ठूलो खतरा हो,” सीसीटीभीले भनेको छ ।

“अमेरिकाले एक चीन सिद्धान्त र तीन संयुक्त विज्ञप्ति र फरक फरक समयमा गरिएका अमेरिका–चीनबीच भएका सहमति पालना गर्नुपर्छ र ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ । बेइजिङ र वासिङ्टनबीच हालैका वर्षहरूमा स्वशासित टापु ताइवान र मानव अधिकार, व्यापार र दक्षिण चीन सागरजस्ता अन्य फ्ल्यासप्वाइन्ट मुद्दाहरूलाई लिएर विवाद बढेको छ ।

गत नोभेम्बरमा सान फ्रान्सिस्कोमा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका सिमकक्षी सी चिनफिङबीच भएको वार्तापछि दुई देशबीचको सम्बन्ध केही हदसम्म स्थिर भएको छ । सन् २०२२ मा तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले युद्धपोत, क्षेप्यास्त्र र लडाकू विमानसहितको ताइवानमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया