३० असार २०८३, मंगलवार
समाचार समाज

सातौँ विश्व संस्कृत दिवस मनाइँदै

३ भदौ , काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो ।
प्रत्येक वर्ष तिथिअनुसार श्रावणी पूर्णिमा (ऋषितर्पणी) को दिनमा मनाइने विश्व संस्कृत दिवसको सातौँ संस्करण नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रमको आयोजना गरी आज मनाउन लागिएको विश्व संस्कृत दिवस कार्यपरिषद् (आयोजक समिति) का संयोजक प्रा डा माधवप्रसाद पाण्डेयले राससलाई जानकारी दिए । सातौँ संस्करणहन्तर्गतको मूल समारोह समुद्र मन विद्या प्रतिष्ठानको सभाकक्ष, गहनापोखरी, काठमाडौँमा आयोजना गरिएको उहाँले बताए ।
संस्कृत भाषामा निहित ज्ञानसम्पदाबारे विश्व समुदायको ध्यानाकर्षण गरी यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले विश्व संस्कृत दिवस मनाइँदै आइएको सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीले बताए । प्राचीनकालमा शैक्षिक सत्रको प्रारम्भ श्रावण शुक्ल पूर्णिमाका दिनदेखि सुरु गरिने हुनाले यस दिनलाई दिवसका रुपमा मनाउन थालिएको भन्दै यो दिवसलाई आधिकारिकता प्रदान गर्न संयुक्त राष्ट्रसङ्घसमक्ष प्रस्ताव लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।
यहाँ आयोजित दिवसमा जरो किलो प्रतिष्ठान नेपाल, नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग, जयतु संस्कृतम्, हिमवत् आर्ष प्रज्ञा, सनातन धर्म महासङ्घ नेपाल, सहृदयता समाजलगायत संस्थाले सहकार्य गरेका आयोजक समितिका संयोजक पाण्डेयले बताए ।
यसैगरी, विश्व संस्कृत दिवसका लागि अन्तर्राष्ट्रिय तहमा सहृदयता इन्टरनेसनल, इन्टरनेसनल फेडेरेसन अफ सनातन धर्म, नेपाली हिन्दू फोरम युके, सनातन धर्म अष्ट्रेलिया, विश्व भूटानी हिन्दू सङ्गठन, ग्लोबल सोसाइटी फर पिस एन्ड स्पिरिचुअल साइन्सलगायत संस्थाले सहकार्य गरेका छन् ।
मुकुन्दशरण उपाध्यायलाई संस्कृत सम्मान प्रदान गरिने
विश्व संस्कृत दिवसका अवसरमा प्रत्येक वर्ष प्रदान गरिने विशेष संस्कृत सम्मानबाट यस वर्ष भाषाविद् प्रा मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिँदैछ । प्रा उपाध्यायले संस्कृत एवं नेपाली भाषाको श्रीवृद्धिका साथै सनातन धर्म संस्कृतिको प्रवर्द्धनका लागि दशकौँदेखि गर्नुभएको विशिष्ट योगदानस्वरुप उहाँलाई विशेष सम्मान गर्न लागिएको हो ।
यसअघि आचार्य पूर्णचन्द्र उपाध्याय ढुङ्गेल र प्रा डा दीर्घराज घिमिरेलाई उक्त सम्मानबाट सम्मानित गरिएको थियो । साथै एक लाख नगदराशिको आरुणी संस्कृत शोधवृत्ति (रिसर्च फेलोशिप) उपप्राध्यापक गोविन्द घिमिरे (आकाश नीलम) र उपप्राध्यापक रोहिणीराज तिमिल्सिनालाई प्रदान गरिएको थियो ।
काठमाडौँमा आज आयोजना गरिएको मूल समारोहका प्रमुख अतिथि प्रा डा पुरुषोत्तमाचार्य हुनुहुन्छ । नेपालमा जन्मेर हाल भारतको राजस्थान संस्कृत विश्वविद्यालयका प्राध्यापक रहनुभएका प्रा डा पुरुषोत्तमाचार्य संस्कृतका विद्वान एवं प्रतिष्ठित आध्यात्मिक गुरु हुनुहुन्छ । विश्व संस्कृत दिवसका अवसरमा नेपालका सातै प्रदेशमा विभिन्न गुरुकुल तथा अन्य संस्थाको आयोजनामा विविध कार्यक्रम गरिने आयोजक समितिका संयोजक प्रा डा पाण्डेयले जानकारी दिए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि