१२ पुष २०८२, शनिबार
समाचार

काठमाडौँको फोहोर ३ दिनभित्र उठाइसक्ने

६ साउन, काठमाडौं । साउन १ गतेदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुनः सुरु गरिएको छ । फोहोर व्यवस्थापन स्थलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन रोकिएको थियो ।

काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले त्यहाँका स्थानीयसँगको सहमतिपछि फोहोर व्यवस्थापन पुनः सुरु भइसकेको जानकारी दिए । उनका अनुसार रोकिएको फोहोर व्यवस्थापन तीन दिनभित्र पूरा भइसक्नेछ ।

उनले सुरक्षाकर्मीको सहयोगमा शुक्रबार एक सय ५२ गाडी र आज एक सय ६४ गाडी फोहोर व्यवस्थापन गरिएको बताए । उपत्यकाका सडकमा थुप्रिएको फोहोर सोमबारसम्म व्यवस्थापन गरिने र मङ्गलबारदेखि घर–घरको फोहोर पनि व्यवस्थापन हुने उनको भनाइ छ ।

एक वर्षअघि काठमाडौँ महानगरपालिका र स्थानीयबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै त्यहाँका स्थानीयले यही साउन १ देखि फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका थिए ।

नुवाकोट ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन नगर्न भन्दै अवरोध गरेका थिए ।

महानगरपालिकासँग भएको बाँकी सहमति बिस्तारै कार्यान्वयन गर्ने सर्तमा तत्कालका लागि अवरोध हटाउने सहमति भएको हो । अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा यसअघि थुपारेको फोहोरलाई क्यापिङ (फोहोरलाई माटोले पुर्ने) गरी औषधि राखेर दुर्गन्ध हटाएपछि स्थानीयको अवरोध हटेको धुनीबेँसी नगरपालिका वडा नं १ का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।

सामान्यतया काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको तीन सय गाडी फोहोर दैनिकरूपमा व्यवस्थापन हुँदै आएको छ । विगत १५ वर्षसम्म सिसडोलमा फोहोर व्यवस्थापन हुँदै आएको गत भदौ ७ गतेदेखि बञ्चरेडाँडामा अन्तिम व्यवस्थापन हुँदै आएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि