काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नयाँ दिल्लीमा दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्ति गैरकूटनीतिक र असान्दर्भिक भएको बताएका छन् ।
ज्ञवालीले उक्त अभिव्यक्तिले नेपालको स्वाभिमान र राष्ट्रिय हितमा आँच पुर्याउने टिप्पणी गरेका छन् । विदेशी भूमिमा सरकारी पदाधिकारीले आफ्नो मुलुकको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्नु उचित नहुने उनको भनाइ छ ।
नेपालमा कहिल्यै ‘भारतविरोधी राष्ट्रवादको युग’ नरहेको उल्लेख गर्दै ज्ञवालीले नेपालले सधैँ सार्वभौम समानता, पारस्परिक हित र सम्मानमा आधारित मित्रवत् सम्बन्ध चाहेको बताएका छन्। कुनै व्यक्ति वा समूहको दृष्टिकोणलाई समग्र राष्ट्रको प्रतिनिधित्व गर्ने गरी व्याख्या गर्न नमिल्ने उनको तर्क छ ।
छिमेकी मुलुकसँग यस्ता विषयमा खुलस्त छलफल गर्नुपर्ने भन्दै उनले समस्यालाई लुकाएर सम्बन्ध बलियो नहुने बताएका छन् । यी विषय उठाउनु भारतको विरोध नभई नेपालको राष्ट्रिय हितसँग जोडिएको प्रश्न भएको उनको भनाइ छ ।
राष्ट्रिय हितको रक्षा गर्नु हरेक सरकारको दायित्व भएको उल्लेख गर्दै ज्ञवालीले त्यसका लागि बलियो राष्ट्रिय एकता, सहमति र गम्भीर कूटनीतिक पहल आवश्यक रहेको बताएका छन् । यथार्थलाई ढाकछोप गरेर अपनाइने तुष्टीकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमानलाई बलियो नबनाउने उनको टिप्पणी छ ।







