काठमाडौं । बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको नेपालीहरूको महान् चाड बडादशैं कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाइन्छ ।
नवरात्रभर घर तथा दशैंघरमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्रहरूको पाठपारायण गर्दै शक्तिस्वरूपा नवदुर्गाका नौवटा रूपको उपासना गर्ने परम्परा छ । नवरात्रको पहिलो दिन शैलपुत्री र दोस्रो दिन ब्रह्मचारिणीको आराधना गरिएपछि तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिएको हो । यसपछि क्रमशः चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ ।
हिन्दू धर्मावलम्बीहरूले असत्यमाथि सत्य र असुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा यो पर्व मनाउने गर्दछन् ।
यसैबीच, नवरात्रको तेस्रो दिन आज काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति रहेको छ । राजधानीका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र संकटा लगायतका मन्दिरहरूमा दर्शनार्थीहरूको घुइँचो लागेको छ ।
त्यस्तै, उपत्यकाबाहिरका प्रमुख शक्तिपीठहरू ताप्लेजुङको पाथीभरा, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली र गोरखाको मनकामना लगायतका प्रसिद्ध मन्दिरहरूमा पनि पूजाआजा तथा दर्शन गर्ने श्रद्धालुहरूको उल्लेख्य भीड लाग्ने गरेको छ ।







