सुर्खेत । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले सिद्धपाइला यातायात सेवा प्रा.लि., वीरेन्द्रनगर–६ सुर्खेतले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५६ हजार १५६ आर्थिक सहयोग गरेको छ।
सिद्धार्थ बैंक, सुर्खेत शाखामार्फत संस्थाले रु. ५६ हजार १५६ बराबरको चेक कोषको खातामा जम्मा गरेको हो । प्रा.लि.का तर्फबाट दावा गुरुङ, यमबहादुर डाँगी र दिपेन सिंहको हस्ताक्षर रहेको चेक कोषमा हस्तान्तरण गरिएको जनाइएको छ ।
हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै केही नागरिक सम्पर्कविहीन भएका छन्। विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संस्थाले उक्त रकम प्रदान गरेको जनाएको छ ।
वि.सं. २०७४ सालमा स्थापना भएदेखि सुर्खेतलाई केन्द्रविन्दु बनाएर यातायात सेवा प्रदान गर्दै आएको सिद्धपाइला यातायातले व्यावसायिक सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न प्राकृतिक विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग गर्दै आएको जनाएको छ ।
संस्थाले विपद्को समयमा राज्यको प्रयासमा निजी क्षेत्र तथा सामाजिक संस्थाहरूले समेत हातेमालो गर्नुपर्नेमा जोड दिँदै रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकको राहत र उद्धारमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिएको जनाएको छ ।







