काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वरिष्ठ नागरिक अगुवा तथा पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति थापाले डा. पाण्डेको निधनसँगै राष्ट्रले प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रका सजग पहरेदार गुमाएको बताएका छन् । उनले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा डा. पाण्डेले जीवनभर निर्भीक रूपमा आवाज उठाएको स्मरण गरेका छन् ।
सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक चरणहरूमा डा. पाण्डेले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध दृढ भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । उनले नयाँ पुस्तालाई लोकतन्त्र, नागरिक चेतना र उत्तरदायी शासनका विषयमा डा. पाण्डेले निरन्तर प्रेरित गरेको बताएका छन् ।
थापाले अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा डा. पाण्डेले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसमा महत्वपूर्ण योगदान दिएको बताए ।
उनले सार्वजनिक जीवनमा डा. पाण्डेले देखाएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहने उल्लेख गरेका छन् । ‘अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिनुभयो । सार्वजनिक जीवनमा उहाँले देखाउनुभएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहनेछ,‘ थापाले भनेका छन् ।
सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको पक्षमा डा. पाण्डेले निर्वाह गरेको भूमिका विशेष स्मरणीय रहेको बताउँदै थापाले उनले प्रज्वलित गरेको नागरिक चेतना र बौद्धिक योगदानले आगामी पुस्तालाई मार्गदर्शन गरिरहने विश्वास व्यक्त गरेका छन् ।
सभापति थापाले दिवंगत डा. देवेन्द्रराज पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।







