२८ असार २०८३, आईतवार
अर्थ मुख्‍य समाचार समाचार

डलरको भाउ बढ्दा इन्टरनेट कम्पनीहरु मारमा : कराेडाैँ नाेक्सानी बेहाेर्दै

काठमाडौं । अमेरिकी डलरको मूल्य निरन्तर बढ्दै जाँदा नेपालका इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरू करोडौँ रुपैयाँको वैदेशिक विनिमय नोक्सानी व्यहोर्न बाध्य भएका छन्।

इन्टरनेट उपकरण र नेटवर्क पूर्वाधारका अधिकांश सामग्री विदेशबाट आयात गर्नुपर्ने भएकाले बढ्दो विनिमय दरले सञ्चालन लागत उल्लेख्य रूपमा बढाएको छ। यस्तो दबाबका बीच बजारको अग्रणी कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले मात्रै गत आर्थिक वर्षमा ११ करोड रुपैयाँ वैदेशिक मुद्रा विनिमय नोक्सानी व्यहोरेको छ भने बढ्दो ऋण र कानुनी दायित्वले भियानेट कम्युनिकेसनको वित्तीय अवस्था थप दबाबमा परेको छ।

पछिल्लाे समय डलरकाे भाउमा बढ्दा इन्टरनेट कम्पनीहरु प्रभावित बनेका हुन । त्यस्तै बजारमा बढ्दो मूल्य प्रतिस्पर्धा, प्रति ग्राहक औसत आम्दानी (एआरपीयू)मा आएको गिरावट, नेपाल विद्युत् प्राधिकरणसँगको पोल भाडा विवाद, दूरसञ्चार सेवा शुल्क तथा नियामकीय अनिश्चितताले नेपालका इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरू प्रभावित भइरहेकाे उनीहरुका वित्तीय रिपाेर्टहरुले देखाउन थालेका छन् ।

बजारको अग्रणी कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले व्यापार, नाफा र बजार विस्तारमा उल्लेखनीय वृद्धि कायम राखेको देखाएको छ भने भियानेट कम्युनिकेसन बढ्दो ऋण, कानुनी दायित्व र तरलता व्यवस्थापनको दबाबमा परेको देखिएको छ।

वर्ल्डलिंक सम्बन्धि पछिल्लाेे प्रतिवेदनअनुसार वर्ल्डलिंकले गत आर्थिक वर्षमा १२ अर्ब १३ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.०१ प्रतिशत बढी हो। कम्पनीको सञ्चालन नाफा मार्जिन ३१.४५ प्रतिशतबाट बढेर ३२.६१ प्रतिशत पुगेको छ। यसअनुसार कम्पनीले करिब ४ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ भने नगद सञ्चिति पनि बढेर ३ अर्ब १ करोड रुपैयाँ पुगेको छ।

हाल वर्ल्डलिंकले नेपालको इन्टरनेट बजारको करिब ३२ प्रतिशत हिस्सा ओगटेको छ। कम्पनीका ग्राहक संख्या १० लाख नाघिसकेको छ भने गत वर्ष थपिएका नयाँ ग्राहकमध्ये करिब ३० प्रतिशत वर्ल्डलिंकले मात्रै थपेको छ।

कम्पनीमा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट, डोल्मा इम्प्याक्ट फन्ड र फिनफन्डमार्फत ४ अर्ब ३७ करोड ५० लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। यसले कम्पनीको पूँजी संरचना बलियो बनाएको छ भने ऋण भुक्तानी क्षमता सुधारिएकाे छ ।

यद्यपि वर्ल्डलिंक पनि चुनौतीबाट मुक्त छैन। डलरको मूल्यवृद्धिका कारण विदेशबाट आयात गरिने नेटवर्क उपकरण महँगिँदा कम्पनीले गत आर्थिक वर्षमा मात्रै ११ करोड रुपैयाँ वैदेशिक मुद्रा विनिमय नोक्सानी व्यहोरेको छ। त्यसैगरी बजारमा बढ्दो प्रतिस्पर्धाका कारण प्रति ग्राहक औसत आम्दानी (एआरपीयू) ९२७ रुपैयाँबाट घटेर ८४९ रुपैयाँमा झरेको छ।

यता, २५ वर्षदेखि सेवा दिँदै आएको भियानेट कम्युनिकेसनको वार्षिक कारोबार २ अर्ब ४० करोड ४० लाख रुपैयाँ पुगेको छ। तर कम्पनीले आफ्नो वार्षिक कारोबारभन्दा बढी अर्थात् ३ अर्ब १८ करोड रुपैयाँ बैंक ऋण परिचालन गर्ने तयारी गरेको छ। उक्त ऋण नेटवर्क विस्तार, वित्तीय व्यवस्थापन तथा सर्वोच्च अदालतको फैसलापछि थपिएको दायित्व व्यवस्थापनका लागि उपयोग गरिने जनाइएको छ।

सर्वोच्च अदालतले मर्मतसम्भार शुल्कमा पनि रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) शुल्क लाग्ने फैसला गरेपछि भियानेटमाथि थप ४३ करोड ३० लाख रुपैयाँ दायित्व सिर्जना भएको छ। यसको प्रत्यक्ष असर कम्पनीको नाफा र नगद प्रवाहमा परेको प्रतिवेदनले जनाएको छ।

भियानेटको खुद नाफा मार्जिन करिब ३ प्रतिशतमा सीमित छ भने कम्पनीको करेन्ट रेसियो ०.७९ मात्रै रहेकाले छोटो अवधिको दायित्व व्यवस्थापनमा दबाब रहेको औंल्याइएको छ। हाल कम्पनीले नेपालको इन्टरनेट बजारको १०.२९ प्रतिशत हिस्सा ओगटेको छ। सातै प्रदेशका ५८ जिल्लामा सेवा विस्तार गरिसकेको कम्पनीको ८५ प्रतिशत स्वामित्व अध्यक्ष विनय बोहरासँग रहेको छ।

प्रतिवेदनले नेपालका इन्टरनेट सेवा प्रदायकहरूले अहिले साझा रूपमा धेरै चुनौती सामना गरिरहेको जनाएको छ। डलरको भाउ बढ्दा आयात लागत महँगिनु, साना कम्पनीहरूको अस्वाभाविक सस्तो मूल्य निर्धारण (प्रिडेटरी प्राइसिङ) का कारण आम्दानी घट्नु, नेपाल विद्युत् प्राधिकरणसँगको पोल भाडा विवाद, दूरसञ्चार सेवा शुल्क, बढ्दो सञ्चालन लागत तथा नियामकीय अनिश्चितताले उद्योगलाई दबाबमा राखेको उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार वर्ल्डलिंकले बलियो वित्तीय अवस्था, विदेशी लगानी र आक्रामक बजार विस्तारमार्फत आफ्नो नेतृत्व अझ सुदृढ बनाउँदै लगे पनि भियानेटले बढ्दो ऋण, कानुनी दायित्व र तरलता व्यवस्थापनलाई प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने अवस्था देखिएको छ। इन्टरनेट सेवाको बढ्दो मागसँगै आगामी दिनमा आईएसपी कम्पनीहरूको प्रतिस्पर्धा अझ तीव्र हुने र उनीहरूको सफलता वित्तीय व्यवस्थापन, सेवा गुणस्तर, लागत नियन्त्रण तथा नियामकीय चुनौती व्यवस्थापनमा निर्भर रहने छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि