२० असार २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार

सरकारको सय दिन : मकवानपुरमा निराशा, स्थानीयले उठाए अधुरा प्रतिबद्धताको प्रश्न

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिन पूरा गरेको छ । त्यस अवधीका उपलब्धीहरु पनि सार्वजनिक गरेको छ ।

तर मकवानपुरमा भने सरकारका प्रतिबद्धतामाथि प्रश्न उठ्न थालेका छन् । विशेषगरी हेटौँडासँग प्रत्यक्ष जोडिएका उद्योग, पूर्वाधार र सडक विस्तारका विषयमा सरकारले गरेका घोषणाहरू कार्यान्वयनमा नआएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।

सरकार गठनपछि एक महिनाभित्र हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याइने घोषणा गरिएको थियो । उद्योग सञ्चालनको तयारी भइरहेको दाबी गरिए पनि सय दिन बितिसक्दा पनि उद्योग सञ्चालन हुन सकेको छैन । लामो समयदेखि बन्द अवस्थामा रहेको उद्योग पुनः सञ्चालन हुने अपेक्षा गरेका स्थानीय अहिले निराश बनेका छन् ।

यस्तै, हेटौँडा सिमेन्ट उद्योगलाई गुणस्तरीय उत्पादन वितरण गर्ने गरी सुधार गरिने सरकारी प्रतिबद्धता पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको स्थानीयको गुनासो छ । उद्योगको उत्पादन, व्यवस्थापन र वितरण प्रणालीमा अपेक्षित सुधार नदेखिएको उनीहरूको भनाइ छ ।

मकवानपुरको बहुचर्चित २५ मिटर सडक विस्तारको विषय अझै अन्योलमै रहेको छ । सडक विस्तारको स्पष्ट टुङ्गो सरकारले दिन नसकेको भन्दै प्रभावित स्थानीय आक्रोशित बनेका छन् ।

सडक विस्तारका क्रममा घर तथा संरचना भत्काइएका नागरिकलाई उचित मुआब्जा उपलब्ध गराइने सरकारी प्रतिबद्धता पनि अहिलेसम्म पूरा हुन नसकेको उनीहरूको आरोप छ । क्षतिपूर्ति र मुआब्जाको विषय अझै समाधान नहुँदा प्रभावित परिवारहरू अन्योलमा रहेका छन् ।

त्यसैगरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातोमाटे र थानाभ¥याङ (थारा) ट्राफिक बिट क्षेत्रमा स्वचालित जरिवाना प्रणाली (फाइन सिस्टम) लागू गर्ने सरकारी योजना पनि कार्यान्वयनमा आउन सकेको छैन । सडक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले घोषणा गरिएको उक्त प्रणाली हालसम्म सञ्चालनमा नआएपछि स्थानीयले सरकारको कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएका छन् ।

स्थानीय दीपक खड्काले सरकारले गरेका अधिकांश प्रतिबद्धता कागजमै सीमित भएको आरोप लगाए । उनका अनुसार सरकार गठनपछि जनताले अपेक्षा गरेको परिवर्तन अनुभूति गर्न नसकिएको छ ।

उनले भने, ‘बालेन सरकार बनेदेखि देशमा झन् लुटतन्त्र मौलाएको अनुभूति भएको छ। जनताले खोजेको सुशासन र परिणाम देख्न पाएनौँ। अब देशलाई गणतन्त्रभन्दा राजतन्त्र आवश्यक भएको महसुस हुन थालेको छ ।’

त्यस्तै, अर्का स्थानीय राजकुमार श्रेष्ठले पनि आफूले परिवर्तनको आशामा घण्टी चुनाव चिह्नमा मतदान गरेको स्मरण गराउँदै सरकारले सबैभन्दा संवेदनशील विषय २५ मिटर सडक विस्तारको समस्या समाधानमा कुनै चासो नदिएको गुनासो गरे ।

श्रेष्ठले भने, ‘मैले पनि घण्टीमै भोट हालेको हुँ । २५ मिटर सडकको मुद्दा छिट्टै समाधान हुन्छ भन्ने विश्वासमा सरकारलाई समर्थन गरेका थियौँ । तर सय दिन बितिसक्दा पनि सरकारले यो विषयलाई प्राथमिकतामा राखेको देखिएन। अहिले हामी निराश छौँ ।’

मकवानपुरका स्थानीयले भने घोषणा र व्यवहारबीच ठूलो अन्तर रहेको बताउँदै सरकारसँग अधुरा प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न माग गरिरहेका छन् ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको