काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४ मंसिर १ गतेदेखि २०८३ जेठ २१ गतेसम्म २ हजार ४२१ जना सडक आश्रित व्यक्तिको उद्धार गरिएको जनाएकाे छ ।
महानगरपालिकाले मानव सेवा आश्रम, नेपाल प्रहरी तथा अन्य साझेदार संस्थासँगको समन्वयमा सडकमा कष्टपूर्ण जीवन बिताइरहेका व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनःस्थापनाको काम गर्दै आएको जनाएको छ ।
विज्ञप्तिअनुसार उद्धार गरिएकामध्ये १ हजार ५७१ जना पुरुष र ८५० जना महिला रहेका छन् । उनीहरूमध्ये ८८३ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ५३४ जनाको सामाजिक पुनःस्थापना गरिएको छ ।
महानगरपालिकाले २०७४ सालमा मानव सेवा आश्रमसँग सम्झौता गरी अभियान सुरु गरेको थियो । त्यसयता विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्दै सडक सहयोगापेक्षी व्यवस्थापनका लागि एकीकृत तथा एकद्वार प्रणाली लागू गरिएको जनाएको छ ।
सडक आश्रित व्यक्तिहरूको अवस्था र आवश्यकता पहिचान गर्न हाल काठमाडौंको तिलगंगामा ‘होल्डिङ सेन्टर’ सञ्चालनमा रहेको छ । २०८३ वैशाख २४ गतेदेखि सञ्चालनमा आएको उक्त केन्द्रमा जेठ २१ गतेसम्म २०२ जना उद्धार गरिएका व्यक्तिलाई सेवा प्रदान गरिएको छ । तीमध्ये ६३ जनाको पारिवारिक पुनर्मिलन, ७१ जनाको सामुदायिक पुनःस्थापना तथा ४२ जनाको स्वेच्छिक बहिर्गमन भएको महानगरले जनाएको छ ।
महानगरपालिकाका अनुसार उद्धार गरिएका अधिकांश व्यक्तिमा मानसिक तथा शारीरिक स्वास्थ्य समस्या, सामाजिक व्यवहारमा कमी, आफ्नो परिचय दिन नसक्ने अवस्था, कुपोषण तथा सरसफाइसम्बन्धी समस्या देखिएका छन् । केही व्यक्ति मादक पदार्थ तथा लागूऔषधको दुव्र्यसनका कारण सडकमा आएको पाइएको छ भने कतिपयले माग्ने कार्यलाई पेशाकै रूपमा अपनाएको देखिएको छ ।
विज्ञप्तिमा सडक सहयोगापेक्षी व्यवस्थापनलाई बहुक्षेत्रीय विषय भएको उल्लेख गर्दै गरिबी, अशिक्षा, बेरोजगारी, कुलत, पारिवारिक तथा सामाजिक द्वन्द्वजस्ता कारण न्यूनीकरण गर्न आगामी नीति, योजना र कार्यक्रम केन्द्रित गरिने जनाइएको छ ।
महानगरपालिकाले भविष्यमा सहयोगापेक्षी बन्नुपर्ने अवस्था नै सिर्जना हुन नदिने गरी व्यक्तिगत, पारिवारिक तथा सामाजिक व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने तथा मानवता प्रवद्र्धनका कार्यलाई स्वचालित र दिगो प्रणालीमार्फत सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ ।
प्रेस विज्ञप्तिमा सडक आश्रित मानवहरूको सेवामा समर्पित स्वयंसेवक, मानव सेवा आश्रम, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, अभियन्ता तथा सञ्चारकर्मीहरूको योगदानको उच्च प्रशंसा गरिएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरद्वारा जारी विज्ञप्तिमा अभियानलाई थप प्रभावकारी बनाउन सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ ।







