काठमाडौंमा थारु कला र पहिचान झल्काउने ‘घोंघी सांस्कृतिक साँझ २०८३’ आयोजना हुँदैकाठमाडौं । थारु समुदायको मौलिक कला, संस्कृति र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ राजधानीमा ‘घोंघी सांस्कृतिक साँझ २०८३’ आयोजना गरिने भएको छ। घोंघी स्टेशन प्रा.लि.को आयोजनामा हुने उक्त कार्यक्रम जेठ १५ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान मा सम्पन्न हुने आयोजकले जनाएको छ।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, संस्कृतिको संरक्षण हाम्रो अभियान’ भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रममा थारु समुदायको परम्परागत भेषभूषा, संगीत, नृत्य र लोकसंस्कृतिलाई विशेष प्राथमिकता दिइने बताइएको छ। पछिल्लो समय ओझेलमा पर्दै गएको थारु संस्कृतिलाई युवा पुस्ता र सहरी परिवेशसम्म पुर्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकको भनाइ छ।
सांस्कृतिक साँझमा थारु सांगीतिक क्षेत्रका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। गायक तथा मोडल राज कुस्मी, गायक नरेश जोगी, गायिका तथा मोडल अन्जु कुस्मी र गायिका सोनु कुस्मी ले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्।
त्यसैगरी, गायक तथा संगीतकार गणेश चौधरी, गायिका समीक्षा चौधरी, गायक विजय चौधरी र विकास चौधरी को पनि विशेष प्रस्तुति रहने जनाइएको छ।
कार्यक्रममा थारु पहिरन र संस्कृतिलाई झल्काउने आकर्षक नृत्य प्रस्तुति समेत समावेश गरिनेछ। मोडल रोनी चौधरी, दीपिका कुस्मी, सरोज सुनार, कविता चौधरी भट्टराई तथा डान्सर सुमिना चौधरी को नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार्यक्रममा उपत्यकामा बसोबास गर्ने थारु समुदायसँगै नेपाली कला–संस्कृतिमा रुचि राख्ने दर्शकहरूको उल्लेख्य सहभागिता रहने विश्वास आयोजकको छ।







