काभ्रेपलाञ्चोक, २७ वैशाखः पाँचखाल नगरपालिकाले कृषि–सहरको नारालाई सार्थकता दिन कृषि उपजको प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने कृषि मेलाको आयोजना गरेको छ । नगर कार्यालयले लवग्रिन नेपालसँगको सहकार्यमा आयोजना गरेको सो मेलामा करिब २० हजारले अवलोकन गरेको बताइएको छ ।
नगरले लवग्रिनसँग समन्वय गरी आयोजित मेलामा कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्य छ । उक्त मेलामा आइपीएम प्रविधिबाट उत्पादन भएका कृषि उपजको प्रदर्शनी तथा बिक्री, बाली शिविर सञ्चालन, कृषि उपजको प्रतिस्पर्धात्मक कार्यक्रमसेमत सञ्चालन गरिएको थियो । मेलाको नगरप्रमुख महेश खरेलले शुक्रबार उद्घाटन गरेका थिए ।
सो अवसरमा नगरप्रमुख खरेलले पाँचखाल नगर कृषि सहर भएकाले यहाँको तरकारीमा न्यून विषादीमा रहेको तर्क गरे । उनले भने, पाँचखालको तरकारीमा अत्यधिक विषादी भएको भनेर हल्ला चलाइए पनि केही वर्षदेखि पाँचखालको तरकारी सेमी आग्र्यानिक भएको छ, विषादीको भ्रम चिर्न हामीले अग्र्यानिकमा जोडबल गरिरहेका छौँ । उनले लवग्रिन नेपालसँगको सहकार्यमा पाँचखालमा एक हजार २०० भन्दा बढी किसानलाई एकीकृत शत्रु जीव व्यवस्थापन आइपिएम पद्धतिबाट तरकारीखेती गर्न तालिम प्रदान गरिएको र उक्त प्रविधिमार्फत तरकारी अग्र्यानिकतर्फ गएको बताए ।
पाँचखालमा किसानकै अगुवाइमा साप्ताहिक कृषि हाटबजार सुरु गर्न आग्रह गरिरहेका छन् । किसानको मागलाई सम्बोधन गर्न नगरपालिका तयार छ, नगरप्रमुख खरेलले भन्नुभयो । लवग्रिन नेपालले विगत नौ वर्षदेखि किसानलाई आइपिएमसम्बन्धी तालिम दिँदै आएको छ । उसले तालिममार्फत स्वस्थ तथा सुरक्षित कृषि उत्पादनलाई प्रोत्साहन गर्दै मानव स्वास्थ्य संरक्षण, उत्पादन वृद्धि र किसानको आम्दानी अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको संस्थाका कार्यकारी निर्देशक नारायण ज्ञवालीले बताए।
कृषि मेलमा बाली शिविर सञ्चालन, रैथाने उत्पादनको प्रदर्शनी तथा बिक्री, कृषि उपजको प्रतिस्पर्धात्मक कार्यक्रम, कृषक र कृषक समूहसँग प्रत्यक्ष संवाद, आइपिएम पद्धतिद्धारा उत्पादित कृषि उपजको प्रदर्शनी तथा बिक्री एवं पाँचखालमा उत्पादित आलुलगायत अन्य उपजको परिकारलगायत प्रदर्शनी–बिक्रीमा राखिएको छ ।







