काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विद्यार्थी संगठनहरूलाई ‘स्लिपर सेल’ भन्दै दिएको अभिव्यक्तिप्रति संयुक्त विद्यार्थी आन्दोलनले आपत्ति जनाएको छ। विभिन्न विद्यार्थी संगठनहरूले मंगलबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै यस्तो टिप्पणीले विद्यार्थी आन्दोलनको ऐतिहासिक योगदानमाथि अपमान गरेको आरोप लगाएका छन्।
वक्तव्यमा विद्यार्थी आन्दोलनको ऐतिहासिक योगदान स्मरण गर्दै राणा शासनको अन्त्यदेखि पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, बहुदलीय व्यवस्थाको स्थापना तथा लोकतन्त्रको पुनःस्थापनासम्म विद्यार्थीहरूको भूमिका निर्णायक रहेको उल्लेख गरिएको छ।
आन्दोलनका क्रममा विद्यार्थीहरूले अनेकौँ यातना सहनुका साथै ज्यानको बलिदान दिएको स्मरण गराउँदै वक्तव्यमा भनिएको छ, ‘इतिहासका विभिन्न कालखण्डमा विद्यार्थीहरूलाई जिउँदै झुण्ड्याउने, खाल्डोमा पुरिने, गोली हानिने जस्ता अमानवीय दमन सहनुपरे पनि विद्यार्थी आन्दोलन कहिल्यै पराजित भएन।’
संयुक्त विद्यार्थी संगठनहरूले वर्तमान अवस्थामा आन्दोलनभित्र केही कमजोरीहरू रहे पनि ती सुधारोन्मुख रहेको र संवाद तथा छलफलमार्फत समाधान गर्न सकिने बताएका छन्। तर, प्रधानमन्त्रीले संवाद नगरी सामाजिक सञ्जालमार्फत विद्यार्थी संगठनहरूलाई अपराधी र जासुसी समूहजस्तो चित्रण गर्नु आपत्तिजनक भएको उनीहरूको भनाइ छ।
प्रेस वक्तव्यमा भनिएको छ, ‘विद्यार्थी संगठनहरू त्यसको लागि वार्ता र छलफलमा बस्न तथा उचित निष्कर्षमा जान तयार छन् । तर देशको प्रधानमन्त्रीले यो देशको प्रमुख दुश्मन विद्यार्थी संगठनहरू रहेको जसरी तिनिहरूलाई प्रतिबन्ध लगाउने निषेध गर्ने, खारेज गर्ने जस्ता कार्यक्रमहरू सार्वजनिक गरिरहेका छन् । प्रधानमन्त्री आफू सार्वजनिक रूपमा प्रस्तुत नहुने, विद्यार्थी संगठनहरूसँग सामान्य संवादसम्म नगर्ने तर कालो कोठाभित्र बसेर फेसबुक स्ट्याटस मात्रै सेयर गर्ने गरिरहेका छन् ।’
वक्तव्यमा प्रधानमन्त्रीले सार्वजनिक रूपमा संवाद नगर्ने तर ‘कालो कोठाभित्र बसेर फेसबुक स्ट्याटस’ मार्फत टिप्पणी गर्ने शैलीप्रति पनि आलोचना गरिएको छ । विद्यार्थी संगठनहरूलाई ‘स्लिपर सेल’ जस्तो गम्भीर आरोप लगाउनु संगठनहरूलाई अपराधीकरण गर्ने प्रयास भएको भन्दै उनीहरूले यसको कडा विरोध गरेका छन्।
‘आज मात्रै उनले सामाजिक संजालमा प्रस्तुत गरेको एउटा स्ट्याटसमा विद्यार्थी संगठनहरूलाई स्लिपर सेल’ जस्तो अपराधिक शब्द प्रयोग गर्दै ती संगठनहरूलाई अपराधी र जासुसी संगठन जस्तो गम्भीर आरोप लगाउने काम गरेका छन् । देशका विद्यार्थी संगठनहरूलाई त्यसप्रकारको गम्भीर आरोप लगाउने, अपराधी करार गर्ने, अपमानित गर्ने र इतिहासप्रति मजाक गर्ने प्रधानमन्त्रीको निकृष्ठ कार्यलाई हामी संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट घोर भत्र्सना गर्दछौं,’ वक्तव्यमा उल्लेख गरिएको छ।
संयुक्त विद्यार्थी आन्दोलनले सरकारको विरोधी आवाज दबाउने, विचारमाथि प्रतिबन्ध लगाउने तथा ‘हुकुमी र तानाशाही शैली’ अपनाउने कुनै पनि प्रयास सफल हुन नदिने चेतावनी दिएको छ।
उक्त संयुक्त वक्तव्यमा अनेरास्ववियु, अखिल (समाजवादी), अखिल (छैठौं), अनेरास्ववियू (क्रान्तिकारी), अखिल (क्रान्तिकारी), वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल, जनपक्षीय विद्यार्थी युनियन नेपाल लगायत विभिन्न संगठनका नेतृत्वकर्ताहरूको हस्ताक्षर गरेका छन् ।







