काठमाडौँ, १८ वैशाखः काठमाडौँको बागमती र त्यसका सहायक नदी किनारको जोखिमपूर्ण जीवनबाट मुक्त भई सुरक्षित भविष्यको खोजीमा त्यहाँका बासिन्दाले सरकारको कदमलाई साथ दिन थालेका छन् । काठमाडौँको बल्खु र वंशीघाट क्षेत्रमा बसोबास गर्ने, तर आफ्नो घर, जग्गा र पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको भन्दै उनहरू यतिबेला दशरथ रङ्गशाला पुगेर आफ्नो विवरण टिपाउन व्यस्त छन् ।
आफ्नो सुरक्षित व्यवस्थापनको खोजीमा अहिलेसम्म ७२ जनाले स्वेच्छिक रूपमा रङ्गशाला पुगेर आफ्नो विवरण दर्ता गराइसक्नु भएको छ भने सयौँ लाइनमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी, रङ्गशालामा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोलीले अभिभावकीय भूमिकामा विवरण सङ्कलन गरिरहेको छ ।
साथै विवरण सङ्कलनसँगै त्यहाँ पुगेका नागरिकको स्वास्थ्य जाँच र आवश्यक मनोपरामर्श प्रदान गरिँदैछ भने त्यसले उनीहरूमा रहेको त्रासलाई कम गरी आत्मविश्वास जगाउन मद्दत गरेको छ । लामो समयदेखि असुरक्षित र कष्टकर बसोबास गरिरहेका नागरिकहरूलाई सम्मानजनक व्यवहारका साथ खाजा खुवाएर व्यवस्थित तरिकाले होल्डिङ सेन्टर’मा लैजाने तयारी गरिएको छ ।
विवरण सङ्कलनपछि उनीहरूलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैङ्क तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी रहेको सचिवालयले जनाएको छ ।







