२ भाद्र २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

पुम्दीकोटको उचाइबाट प्रेमको उडान

भर्खरै वैवाहिक बन्धनमा बाँधिएर जीवनको नयाँ अध्याय सुरु गरेपछि, आफ्नो जीवनसाथीसँग पोखराको आँगनमा पाइला टेक्दाको अनुभूति शब्दमा वर्णन गर्नै नसकिने खालको रह्यो ।

काठमाडौं । नेपालको मानचित्रमा पोखरा एउटा यस्तो नाम हो, जसले मानसपटलमा ठोकिनेबित्तिकै शान्त ताल, सेता हिमाल र हरियालीको एउटा जीवन्त तस्विर कोरिदिन्छ । नेपालका अनगिन्ती पर्यटकीय गन्तव्यहरूमध्ये पोखरा सधैं विशेष र पहिलो रोजाइमा पर्छ । यहाँको हावापानीमा एउटा छुट्टै मिठास छ, जसले मनको अशान्तिलाई शान्त पार्छ र जीवनलाई नयाँ ऊर्जाले भरिदिन्छ ।

भर्खरै वैवाहिक बन्धनमा बाँधिएर जीवनको नयाँ अध्याय सुरु गरेपछि, आफ्नो जीवनसाथीसँग पोखराको आँगनमा पाइला टेक्दाको अनुभूति शब्दमा वर्णन गर्नै नसकिने खालको रह्यो । नयाँ सम्बन्धको सुरुआतमा पोखराको शान्त वातावरण र हिमालको सामीप्यले हाम्रो यात्रालाई एउटा सुन्दर उत्सव जस्तै बनाइदियो ।

हाम्रो यात्राको सबैभन्दा यादगार क्षण पुम्दीकोटको दर्शन रह्यो । किनकी बैबाहिक बन्धनमा बाँधीएको केहिदिनमै हाम्रो प्रेमको उडान पुम्दीकोटको भ्रमण गर्दै सुरु हुन पुग्यो । पोखरा उपत्यकाको शिरमा अवस्थित पुम्दीकोट अहिले केवल धार्मिक गन्तव्य मात्र रहेनछ, यो त आध्यात्मिक र प्राकृतिक सौन्दर्यको अनुपम संगम बनेको रहेछ । त्यहाँ स्थापित भगवान शिवको ५१ फिट अग्लो विशाल मूर्ति देख्दा श्रद्धाले शिर आफैं झुक्दो रहेछ । करिब २२ रोपनीमा फैलिएको यो धाममा १०८ शिवलिङ्ग, डमरु र कलश जस्ता धार्मिक संरचनाहरूले एउटा दिव्य वातावरण सिर्जना गरेका छन् ।

आफ्नो श्रीमानको हात समातेर मन्दिरका खुड्किलाहरू चढ्दै गर्दा र विशाल महादेवको मूर्ति अगाडि उभिँदा, हामीले आफ्नो नयाँ जीवनको सुखद भविष्यका लागि मागेको आशिर्वादले मनमा एउटा बेग्लै शान्ति र सकारात्मक ऊर्जा सञ्चार ग¥यो । पुम्दीकोटको उचाइबाट देखिने दृश्य झनै लोभलाग्दो छ । तल निलो फेवाताल, वरिपरि हरियालीले घेरिएको पोखरा सहर र टाढा चाँदी झैं टल्किएका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाहरू । सूर्योदयको पहिलो किरणले ती हिमाललाई छुँदा देखिने स्वर्णिम दृश्यले हाम्रो फोटो र भिडियो सुटिङलाई मात्र होइन, हाम्रो सम्झनालाई पनि सुनौलो बनाइदियो ।

पोखरा पुगेपछि फेवातालको किनारमा नटहल्लिने त कुरै भएन । फेवातालको लहरसँगै डुङ्गामा सयर गर्दा र तालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको दर्शन गर्दाको क्षण निकै आध्यात्मिक र रोमान्टिक रह्यो । तालको कञ्चन पानीमा हिमालको प्रतिबिम्ब देख्दा लाग्थ्यो, प्रकृतिले हामीलाई स्वागत गरिरहेको छ । विशेषगरी लेकसाइडको चहलपहल, जहाँ नेपालीभन्दा विदेशी पर्यटकहरूको बाक्लो उपस्थिति देखिन्छ, त्यसले पोखरालाई एउटा अन्तर्राष्ट्रिय सहरको आभास दिलाउँछ । साँझपख लेकसाइडका सडकमा आफ्नो जीवनसाथीसँग हातमा हात मिलाएर हिँड्दाको खुसी र त्यहाँको आधुनिक पर्यटकीय गतिविधिले यात्रालाई थप रोचक बनायो ।

त्यस्तै, सराङकोटको डाँडाबाट देखिने सूर्योदय र प्याराग्लाइडिङको रोमाञ्चक दृश्यले पोखराको आकर्षणलाई अर्को उचाइमा पु¥याएको छ । साहसिक पर्यटन र प्राकृतिक शान्ति खोज्नेहरूका लागि यो ठाउँ स्वर्ग नै हो । पोखराको यो फेरिँदो रूपले स्थानीय व्यापार र अर्थतन्त्रमा पनि ठूलो टेवा पु¥याएको देख्न सकिन्छ । होटल, रेष्टुरेन्ट, यातायातदेखि हस्तकलाका सामग्रीसम्मको व्यापार फस्टाउँदा स्थानीय बासिन्दाहरूले रोजगारी र आयआर्जनको राम्रो अवसर पाएका छन्, जुन देशको विकासका लागि सकारात्मक पक्ष हो ।

समग्रमा, पोखरा घुम्नका लागि मात्र होइन, मनलाई शुद्ध पार्न र नयाँ सपनाहरू बुन्नका लागि पनि एक उपयुक्त थलो हो । यहाँको स्वच्छ हावा, हिमालको मुस्कान र मानिसहरूको आतिथ्यताले जो कोहीलाई मोहित बनाउँछ । भर्खरै वैवाहिक जीवनमा बाँधिएका हामी जस्ता जोडीहरूका लागि त यो सहर सम्बन्धलाई अझ प्रगाढ बनाउने एउटा सुन्दर माध्यम बन्यो ।

पुम्दीकोटको विशाल महादेवको सामिप्यदेखि फेवातालको शान्त लहरसम्मको यो यात्राले मेरो जीवनमा सधैं एउटा विशेष स्थान राख्नेछ । यदि तपाईं पनि प्रकृति, धर्म र मनोरञ्जनको त्रिवेणीमा हराउन चाहनुहुन्छ भने, पोखरा तपाईंलाई पर्खिरहेको छ । यहाँको प्रत्येक दृश्यले जीवनलाई थप सुन्दर र अर्थपूर्ण बनाइदिनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि