१६ बैशाख २०८३, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार

मनास्लु हीरक दिवस भव्य रूपमा मनाइँदै, प्रथम आरोहीहरूको सम्मान गरिने

काठमाडौं । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले मनास्लु र ल्होत्से हिमालको प्रथम सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा यस वर्ष विशेष रूपमा ‘हीरक दिवस’ मनाइने बताएका छन्। उनले मनास्लु हिमालको सफल आरोहणले नेपाल–जापान कूटनीतिक सम्बन्धको सुरुवातमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यस वर्षलाई ऐतिहासिक रूपमा विशेष महत्वका साथ मनाउन लागिएको बताए ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शेर्पाले सन् १९५६ मा जापानी आरोही तोसियो इमानोसी र नेपाली आरोही उर्केन सिंह शेर्पाले मनास्लु हिमालको पहिलो सफल आरोहण गरेको स्मरण गरे। उनले उक्त आरोहणपछि तत्कालीन नेपाल दरबारले जापानी आरोहीलाई विशेष सम्मान दिएको र त्यसपछि नेपाल–जापानबीच कूटनीतिक संवाद सुरु भई सोही वर्ष सेप्टेम्बरमा जापानले नेपालमा दूतावास स्थापना गरेको बताए ।

उनले भने, ‘मनास्लु हिमालको सफल आरोहण केवल पर्वतारोहणको इतिहास मात्र होइन, नेपाल–जापान सम्बन्धको सुरुवातको आधार पनि हो। यही कारणले यो वर्ष मनास्लु आरोहणको ७० वर्ष र नेपाल–जापान दौत्य सम्बन्धको ७० वर्ष एकैसाथ मनाउन लागिएको छ।’

उनका अनुसार मे ९ मा चुमनुब्री गाउँपालिकास्थित सामागाउँमा मनास्लु हीरक दिवस विशेष रूपमा आयोजना गरिनेछ । प्रथम आरोहीहरूको सम्मान, परिवारलाई विशेष सम्मान, सालिक अनावरण तथा मनास्लु हिमालको थ्रीडी मोडल विमोचन गरिने कार्यक्रम तय भएको छ ।

त्यस्तै, मे २१ मा सोलुखुम्बुको खुम्जुङमा ल्होत्से हिमालका प्रथम आरोहीहरूको स्मरणमा सालिक अनावरण गरिने उनले जानकारी दिए। स्विस नागरिक आरोहीहरू तथा नेपाली आरोहीको योगदानलाई सम्मान गर्दै विशेष कार्यक्रम आयोजना गरिनेछ।

अध्यक्ष शेर्पाले नेपाल पर्वतारोहण संघको अन्तर्राष्ट्रिय सञ्जालमार्फत नेपालको पर्वतीय पर्यटनलाई विश्वभर प्रवद्र्धन भइरहेको उल्लेख गर्दै हिमाल नेपालको सबैभन्दा ठूलो सम्भावना भएको बताए। उनले पर्यटनमार्फत मात्रै देशको आर्थिक विकास सम्भव रहेको धारणा राखे।

उनले भने, ‘नेपालको वास्तविक विकास पर्वतीय पर्यटनबाट हुन्छ। हाम्रो हिमाल, प्रकृति र संस्कृति नै विश्वलाई आकर्षित गर्ने सबैभन्दा ठूलो शक्ति हो। अब विदेशी पर्यटक मात्रै होइन, नेपालीहरूलाई पनि आफ्नै हिमाली गन्तव्यतर्फ आकर्षित गर्नुपर्छ।’

यस्तै, चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले मनास्लु हिमालको प्रथम सफल आरोहणको ७० वर्ष अर्थात मनास्लु हीरक दिवसले नेपाल–जापान मैत्री सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

उनले भने, ‘मनास्लु हिमालको पहिलो सफल आरोहणसँगै नेपाल–जापान सम्बन्धको नयाँ अध्याय सुरु भएको हो। त्यसैले यो दिवस केवल पर्वतारोहणको इतिहास मात्र नभई दुई देशबीचको मित्रताको प्रतीक पनि हो।’

लामाका अनुसार हालसम्म मनास्लु हिमालमा करिब तीन हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्वतारोहीले सफल आरोहण गरिसकेका छन्। यस वर्ष चुमनुव्री गाउँपालिकाले मनास्लु दिवसलाई विशेष महत्वका साथ मनाउन लागेको उनले बताए।

अध्यक्ष लामाले नेपाल पर्वतारोहण संघले नेपालको आठ हजार मिटरभन्दा माथिका हिमालहरूको अन्तर्राष्ट्रिय पहिचान र प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको बताए।

उनले चुमनुव्री गाउँपालिकालाई नेपालकै चौथो ठूलो गाउँपालिका तथा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गर्दै यसलाई जैविक विविधताको खुला संग्रहालयको संज्ञा दिए। यहाँका हिमशृंखला, प्राचीन सम्पदा, संस्कृति र प्राकृतिक सौन्दर्यले अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्ने उनको भनाइ थियो।

विशेष रूपमा चुमनुव्री गाउँपालिकालाई विश्वकै पहिलो कानुनी रूपमा अहिंसा क्षेत्र घोषणा गरिएको स्थानका रूपमा प्रस्तुत गर्दै उनले यसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसम्म पुर्याउने तयारी भइरहेको बताए।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको