काठमाडौं । अव्यवस्थित बस्तीबाट स्क्रिनिङ्का लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।
अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुखाइ भएका १८ जना पुरुष र ६ जना महिला, गर्भवती २ जना, काटेर चोटपटक लागेका १ जना र विभिन्न अरू समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ ।
यस्तै, मनोसामाजिक परामर्शका लागि बहुविवाह गर्ने, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकहरूले आफूलाई परेको मानसिक समस्याका विषयमा परामर्श लिएका छन् ।
पारिवारिक तथा रोजगारीका कारण मनमा धेरै कुरा खेलाउने, बालबालिकाको शिक्षालाई कसरी निरन्तरता दिने जस्ता विषयमा धेरै चिन्ता देखिएको, स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुसालले जानकारी दिए ।







