काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड लामो समयदेखि अलपत्र परेको विषयमा चिनियाँ ठेक्का कम्पनीको ध्यानाकर्षण गराएका छन् ।
उनले उक्त सडक खण्डको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे ।
अनुगमनका क्रममा उनले सडक अलपत्र पर्दा यात्रुहरूलाई सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढेको बताए ।
यस अवस्थालाई चाँडो अन्त्य गर्न ठेक्का कम्पनीले जिम्मेवारीपूर्वक, प्रभावकारी र तीव्र गतिमा काम अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्देशन दिँदै ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारे ।
उनले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै निर्माण कार्यमा कुनै पनि लापरबाही नगर्न सचेत गराए ।
यसैबीच, ठेक्का कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले निर्माणलाई तीव्रता दिई निर्धारित समयसीमाभित्रै काम सक्ने आश्वासन दिएका छन्।
नारायणगढ–बुटवल सडकको काम चाँडो सम्पन्न गर्न चिनियाँ कम्पनीलाई ध्यानाकर्षण







