काठमाडौँ । झापाको गौरीगञ्ज गाउँपालिका स्थायी घर भएका ८५ वर्षीय रमेश घोषले आफ्नो जीवनका करिब ३५ वर्ष सडकपेटीमै बिताए। घर, परिवार र सम्पत्ति हुँदाहुँदै पनि नियतिको कठोर खेलले उनलाई सडक जीवनतर्फ धकेल्यो।
वि.सं. २०४५ साल भदौ ५ गते आएको विनाशकारी भूकम्पमा परी उनका बुबा–आमाले ज्यान गुमाए। संयोगवश रमेश र उनकी बहिनी भने त्यतिबेला घरबाहिर सुतेका कारण ज्यान जोगाउन सफल भए। तर उक्त घटनापछि उनको जीवनले फरक मोड लियो। परिवार बिखण्डित भयो र उनी विस्तारै सडक जीवनतर्फ धकेलिँदै गए।
रमेशले वि.सं. २०४५ सालदेखि २०८२ साल साउनसम्म सडकपेटीमै कष्टकर जीवन बिताएको पीडा सुनाउँछन्। ती वर्षहरूमा उनले न सुरक्षित बास पाए, न त भरपर्दो गाँस नै।
एक समय उनका नाममा ४ विघा १० धुर जग्गा, घरपरिवार र आफन्त थिए। तर दैविक प्रकोप र परिस्थितिको कठोर मोडले उनको जीवनको उर्वर समय सडकपेटीमै बित्न पुग्यो।
गत साउन ४ गते सर्लाहीको हरिवन नगरपालिका–११ स्थित सडकपेटीमा बेवारिसे अवस्थामा फेला परेपछि उनलाई मानवसेवा आश्रमले उद्धार गरी संरक्षणमा राखेको थियो। मानसिक रूपमा विक्षिप्त अवस्थामा रहेका उनलाई उद्धारपछि उपचार र हेरचाहसहित आश्रममा संरक्षण दिइएको छ।
विगत आठ महिनादेखि आश्रमले उनको उपचार र हेरचाहको जिम्मा लिँदै संरक्षणमा राखेको छ। हाल उनी मानवसेवा आश्रम रौतहट शाखामा सुरक्षित रूपमा बस्दै सम्मानजनक जीवनयापन गरिरहेका छन्।







