विराटनगर । मानवसेवा आश्रम विराटनगर शाखाको सेवा सहजीकरणका लागि खाद्यान्न सहयोग प्राप्त भएको छ।
विराटनगर ट्राफिक चोक निवासी पद्मा सिटौलाले आफ्नो जन्मदिनको अवसर पारेर मानवसेवा आश्रम विराटनगर शाखालाई ७९ बोरा चामल सहयोग प्रदान गर्नुभएको छ। वरिष्ठ समाजसेवी हरिभक्त सिटौला र पद्मा सिटौलाद्वारा आश्रमको संरक्षणमा रहनुभएका आश्रितहरूको भोजनसेवा सहजीकरणमा टेवा पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको हो। सिटौला दम्पतीले विगत चार–पाँच वर्षदेखि निरन्तर रूपमा सोही परिमाणमा खाद्यान्न सहयोग गर्दै आउनुभएको आश्रमले जनाएकाे छ ।
त्यस्तै सिटौला दम्पतीद्वारा सञ्चालित अरनीको सहकारीमार्फत मानवसेवा आश्रम विराटनगर शाखाको निर्माणाधीन भवनका लागि आर्थिक सहयोग प्राप्त भएको छ। सिटौला दम्पतीद्वारा आश्रमको एक कोठा निर्माणका लागि ५ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएकाे आश्रमका केन्द्रीय सदस्य तथा कोशी प्रदेश प्रमुख नवराज केसीले जानकारी दिनुभएकाे छ ।
शनिबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा हरिभक्त सिटौला, पद्मा सिटौला, पुण्यप्रसाद घिमिरे, गोपाल पाण्डे, रेवत कार्की लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन मानवसेवा आश्रमका अभिभावक रेवतबहादुर कार्कीले गर्नुभएको थियो। साथै समाजसेवी सिटौला दम्पतीप्रति सहयोगका लागि आश्रम परिवारले आभार व्यक्त गरेको छ।
मानवसेवा आश्रमले तीन तहका सरकार तथा देश–विदेशमा रहेका मनकारी नेपाली दाताहरूको सहयोग र सद्भावका कारण देशभर २९ वटा शाखा विस्तार गरी सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गर्दै आइरहेको छ।







