काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व सोमबार थप चर्किएको छ । राति केही समय शान्त देखिए पनि बिहान इरानले इजरायल र खाडी क्षेत्रका अन्य मुलुकहरूतर्फ नयाँ मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । रुस टुडे, प्रेस टिभी इरान तथा इजरायलको १२४ न्यूजलगायतका सञ्चारमाध्यमका अनुसार साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरमाको रस तनुरा रिफाइनिङ केन्द्रमा ड्रोन आक्रमण भएको दाबी गरिएको छ । रस तनुरा विश्वकै ठूलो तेल निर्यात केन्द्रमध्ये एक मानिन्छ, जसले अन्तर्राष्ट्रिय कच्चा तेल आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्छ ।
रस तनुरा रिफाइनरीमा देखिएको सानो आगलागी नियन्त्रणमा आइसकेको जनाएको एएनआईले जनाएको छ । प्रारम्भिक विवरणअनुसार उक्त आगलागी सम्भावित ड्रोन आक्रमणपछि भएको बताइएको छ । यसैबीच, इरानी सरकारी सञ्चारमाध्यम प्रेस टिभिले बहराइनस्थित सलमान बन्दरगाहमा इरानले मिसाइल प्रहार गरेको जनाएको छ । इरानी दाबीअनुसार उक्त बन्दरगाह अमेरिकाले इरानविरुद्ध सम्भावित आक्रमणका लागि प्रयोग गर्ने सैनिक सामग्री ढुवानीमा प्रयोग हुँदै आएको थियो ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले ‘अपरेसन ट्रु प्रमिस’ नाम दिइएको कारबाहीबारे अद्यावधिक विवरण सार्वजनिक गर्दै ‘दशौं लहरमा खैबार मिसाइलमार्फत कब्जा गरिएका क्षेत्रतर्फ भीषण आक्रमण गरिएको’ उल्लेख गरेको छ । इरानी राज्य सञ्चारमाध्यमहरूले कुवेतमा सोमबार बिहान खसालिएको अमेरिकी एफ–१५ लडाकु विमानका पाइलटको भनिएको तस्बिरसमेत टेलिग्राममार्फत सार्वजनिक गरेका छन् ।
उता, इजरायलस्थित टेलिभिजन नेटवर्कका कूटनीतिक संवाददाता अमिचाइ स्टाइनले खाडी देशका अधिकारीहरू इरानी जवाफी कारबाहीको तीव्रताबाट स्तब्ध भएको बताएका छन् ।
उनका अनुसार एक अधिकारीले ‘खामेनीको अन्त्यपछि जवाफ आउने अनुमान थियो, तर जनघनत्व भएका क्षेत्रलाई नै लक्षित गरिनु अकल्पनीय र अत्यन्त खतरनाक कदम हो’ भनेका छन् । अर्का एक वरिष्ठ अधिकारीले पनि अपेक्षाभन्दा धेरै परसम्म परिस्थिति बिग्रिएको प्रतिक्रिया दिएका छन् ।
पछिल्लो आक्रमण र प्रतिआक्रमण फेब्रुअरी २८ मा सुरु भएको पूर्णस्तरीय द्वन्द्वपछि भएको हो। अमेरिका र इजरायलले संयुक्त रूपमा ‘अपरेसन एपिक फ्युरी÷रोरिङ लायन’ नामक सैन्य कारबाहीअन्तर्गत इरानका सैन्य अड्डा, आणविक पूर्वाधार, मिसाइल प्रणाली तथा उच्च नेतृत्व आवासहरूमा व्यापक हवाई तथा मिसाइल आक्रमण गरेका थिए ।
क्षेत्रीय द्वन्द्व अझ फैलिन सक्ने जोखिम बढ्दै जाँदा विश्व नेताहरू र अन्तर्राष्ट्रिय निकायहरूले संयमता अपनाउन र तनाव घटाउन आह्वान गरिरहेका छन् । तर हालसम्म दुवै पक्षबाट आक्रमण जारी रहेकाले निकट भविष्यमा शान्ति कायम हुने स्पष्ट संकेत देखिएको छैन ।







