७ फाल्गुन २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

प्रवासी जीवन : प्रवासी पीडा, नेपालीपन र मानसिक स्वास्थ्यको बेजोड कथा

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा कहिलेकाहीँ यस्ता कथाहरू आउँछन्, जसले मनोरञ्जन मात्र होइन, समाजको गहिरो सत्य पनि उजागर गर्छन्।

विदेश जाने सपनाभित्रको यथार्थ, मानसिक स्वास्थ्यको मौन पीडा र नेपालीपनको खोज, यी तीनै भावनालाई एउटै कथामा बाँध्ने प्रयास स्वरुप हलमा आउँदै छ, चलचित्र ‘प्रवासी जीवन’ ।

विदेशमा बसेर पनि नेपाली भाषा, संस्कार र पहिचानलाई प्राथमिकतामा राख्दै बनेको नयाँ चलचित्र ‘प्रवासी जीवन’ त्यस्तै एउटा प्रयास हो ।
भुटानी मूलका नेपाली भाषी कलाकार श्याम क्षेत्री, जो अमेरिका बसोबास गर्दै आएका छन् । उनी नेपाली चलचित्र क्षेत्रमा देखिदै छन् । उनको यो यात्रा केवल कलाकारिता होइन, पहिचान, संघर्ष र मानसिक स्वास्थ्यको कथासँग जोडिएको छ ।

क्षेत्रीको जन्म झापामा भएको हो भने उनी शरणार्थी शिविरमा हुर्किएका हुन् । कानुनी रूपमा नेपाली नागरिकता नभए पनि उनले आफूलाई नेपाली नै मान्छन् । भाषा, संस्कार र संस्कृति उनको जीवनको मूल जरा हुन् ।

उनले आफ्नो जीवनयात्रा सम्झिँदै भन्छन्, ‘म भुटानी मुलुकको एउटा नेपाली भाषी हुँ । मेरो जन्म झापामै भयो । शरणार्थी शिविरमा आफूलाई नेपाली नै भन्छु । तर वैधानिक रुपले नेपाली हो भन्ने अधिकार मसँग छैन । तर नेपाली संस्कार, संस्कृति भाषामा म जराबाट जोडिएको छु ।’

अमेरिकी जीवनमा पुर्नस्थापित भएपछि पनि उनले नेपालीपनलाई कहिल्यै छाडेनन् । बरु विदेश पुगेपछि नेपाली हुनुको अर्थ अझ गहिरो रूपमा महसुस गरे । यही भावनाले उनलाई कलाकारितामा करियर बनाउने प्रेरणा दियो र अन्ततः चलचित्र निर्माणसम्म ल्यायो ।

‘अमेरिकामा रि–सेटल हुँदै गर्दा नेपालीत्व अझै महत्वपूर्ण लाग्यो । पछिल्लो समयमा अब आफूलाई एज एन एक्टर वा कलाकारिता क्षेत्रमा करियर बनाउँछु भन्ने सोचले अगाडी बढ्दै गर्दा चलचित्र बनाउन पुगें,’ उनले भने ।

उनका अनुसार प्रवासमा बसेर कला क्षेत्रमा सक्रिय रहनु सजिलो छैन । काम, समय र आर्थिक जिम्मेवारीले थिचेको दैनिक जीवन निकै संघर्षपूर्ण हुन्छ, तर उनी भन्छन्, ‘जुन मानिसमा असाधारण क्षमता हुन्छ, उसैले मात्र विदेशमा बसेर कला, खेल वा अन्य सिर्जनात्मक क्षेत्रमा अघि बढ्न सक्छ ।’ सजिलो नभए पनि सपनालाई जीवित राख्न सकिन्छ भन्ने उनको विश्वास छ ।

उनले कलाकारिताको सुरुवात सर्ट फिल्मबाट गरेका थिए । ती साना कामहरूले उनलाई अनुभव र ज्ञान दियो। त्यही अनुभवले उनलाई ठूलो पर्दासम्म ल्यायो।

उनी भन्छन्, ‘विश्वभर नेपालीहरू छरिए पनि नेपाली चलचित्र क्षेत्रमा आउन चाहनेले अन्ततः काठमाडौं पुग्नैपर्छ । यही बुझेर मैंले पनि काठमाडौंसम्म यात्रा तय गरें ।’

त्यो यात्रामा उनलाई नेपाली चलचित्र उद्योगका महानायक राजेश हमाल जस्ता व्यक्तित्वसँग काम गर्ने अवसर मिल्यो । उनी यसलाई आफ्नो जीवनकै ठूलो उपलब्धि मान्छन् ।

हमालले कुनै सर्त बिना, केवल कथाको भावनात्मक पक्ष र प्रवासी नेपालीहरूको संघर्षलाई बुझेर परियोजनामा साथ दिएका थिए । कलाकारका लागि यस्तो साथ ‘ड्रिम कम ट्रू’ जस्तै भएको उनी बताउँछन् ।

‘महानायक महानता हो, उहाँले कुनै पनि शर्तविना उहाँ आबद्ध हुनुभएको छ । उहाँले हामी भूटानी मुलका नेपाली भाषीहरुलाई धेरै माया गर्नुहुन्छ । मेरो विषय प्रवासको स्ट्रगल र मेन्टल हेल्थमा हो । उहाँले एकदमै अप्रिसिएट गर्नु भएको छ,’ उनी भन्छन् ।

चलचित्रमा उनले अभिनय मात्र होइन, निर्देशन पनि गरेका छन् । उनी स्वीकार गर्दै भन्छन्, ‘एकैपटक धेरै जिम्मेवारी सम्हाल्नु चुनौतीपूर्ण हुन्छ । तर विदेशमा अवसर कम हुने भएकाले आफूले आफैं अवसर सिर्जना गर्नुपर्छ भन्ने सोचले यो निर्णय लिए।’

उनलाई कलाकारिता क्षेत्रमा डिरेक्टर वा राइटरमा भन्दा बढी रुचि अभिनयमा भए पनि चलचित्र प्रवासी जीवनमा आफूले आफैंलाई अवसर दिने कोशिस गरेको बताए ।

‘आफूलाई कलाकारिता क्षेत्रमा अगाडि बढाउन मन छ । मलाई निर्देशक वा लेखक मन होइन् । तर त्यो बाध्यताले गर्दा कतैबाट अवसर नआएको कारणले गर्दा मैले आफुले आफुलाई अवसर दिने कोशिस गरेको मात्र हो,’ उनी भन्छन् ।

उनको भूमिकाबारे बोल्दै फिल्ममा उनी मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएको पात्रका रुपमा छन् । नेपालबाट ठूलो सपना बोकेर अमेरिका पुगेको एक युवाको कथा फिल्मले देखाउँछ ।

नयाँ परिवेश, भाषा, संस्कृति र एक्लोपनले कसरी मानिसलाई मानसिक रूपमा कमजोर बनाउँछ, संघर्षले कसरी उसलाई गहिराइमा धकेल्छ, र त्यहाँबाट बाहिर निस्कने प्रयास कस्तो हुन्छ, यही कथा चलचित्रको मूल विषय हो ।

चलचित्र किन विशेष छ भन्ने प्रश्नमा उनी स्पष्ट छन् । नेपालमा बस्ने र विदेश जाने सोचमा रहेका दुवै समूहका लागि यो फिल्म महत्वपूर्ण छ । नेपालमा धेरै युवाले विदेशलाई सपनाको देश मान्छन् । तर विदेशको वास्तविकता कस्तो हुन्छ ? त्यहाँको जीवन कत्तिको सहज वा कठिन हुन्छ ? फिल्मले यही प्रश्नको यथार्थ पक्ष देखाउने प्रयास गरेको छ ।

उनी भन्छन्, ‘विदेश जाने सोच बनाइरहेका युवाले यो फिल्म हेर्नुपर्छ । प्रवासमा रहेका नेपालीहरूले हेरेभने आफैंलाई ऐनामा हेरेजस्तो अनुभव हुनेछ ।’ उनका अनुसार फिल्मले केवल कथा मात्र होइन, स्मृति, पीडा र आत्मपहिचान पनि देखाउँछ ।

मानसिक स्वास्थ्यलाई मुख्य विषय किन रोजियो भन्ने प्रश्नमा उनले आफ्नै अनुभव सुनाए । अमेरिका बसाइका १७ वर्षमा उनले धेरै आत्महत्या, डिप्रेसन, नशा र एक्लोपनका घटना देखेका रहेछन् । ती घटनाको जरो मानसिक असन्तुलन र सामाजिक अलगावमा देखेपछि उनलाई यस विषयमा केही गर्ने प्रेरणा मिल्यो ।

उनले बुझ्न थाले जब मानिसको मनोविज्ञान अस्थिर हुन्छ, उसले छिटो राहत दिने बाटो खोज्छ । त्यही क्रममा दुव्र्यसन, गलत निर्णय वा अन्ततः आत्महत्या जस्ता कदम आउँछन् । यी घटनाहरू प्रत्यक्ष देख्दा उनले यो विषयमा कथा भन्नैपर्छ भन्ने महसुस गरे । त्यसैले प्रवासी जीवन केवल फिल्म होइन, अनुभव र चेतनाको अभिव्यक्ति बनेको छ ।

‘धेरै घटनाहरु एकदमै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मैंले देखेको, अनुभव गरेको हुनाले एक खालको दवाब पनि भयो । यो विषयमा मंैले केही न केही सोच्नुपर्छ भन्ने लागेर मेरो इच्छाले अनि यो घटनाहरुले मलाई प्रेरित गर्यो, यो प्रवासी जीवन मेन्टल हेल्थको विषय र संघर्षलाई कैद गर्न मन लाग्यो,’ उनले भने ।

भविष्य योजनाबारे उनी आशावादी छन् । उनले मनको कुनामा अरू निर्माताबाट अफर आउने अपेक्षा राखेका छन् । तर अफर नआए पनि उनी रोकिँदैनन् । उनी स्क्रिप्ट लेखिरहेछन् र नयाँ परियोजनाको तयारीमा छन्। उनका अनुसार अवसर खोज्दा नपाइए पनि सिर्जना गर्न सकिन्छ ।

‘मनको कुनामा एउटा चाहना छ, कसैले मलाई मेरो कामलाई देखेर अप्रसिएट गरेर कामको अफर गरेको चाहन्छु । तर आएन भने पनि म मेरो केहि योजनाहरु छ अवसर खोज्दा पाइएन भने आफुले नै अवसर बनाउनु नै पर्छ । मेरो प्रयत्न मेरो कोशिस जारी रहनेछ,’ उनले भने ।

यो फिल्मलाई केवल मनोरञ्जनका रूपमा होइन, अनुभवका रूपमा हेर्न उनले नेपाली दर्शकसँग विशेष अनुरोध गरेका छन् ।
उनले भने, ‘यदि तपाईँको परिवारमा कोही विदेशमा छ वा विदेश जाने सोचमा हुनुहुन्छ भने यो फिल्म तपाईँलाई काम लाग्न सक्छ ।’

उनका लागि दर्शक नै कलाकारको अस्तित्व हुन् । त्यसैले उनले दर्शकसँग माया र साथ मागेका छन् । विदेशमा बसेर पनि नेपाली भाषा र कथालाई पर्दामा उतार्ने यो प्रयास नेपाली चलचित्र इतिहासमा फरक स्वादको उदाहरण बन्न सक्छ ।

निर्देशक तथा कलाकार क्षेत्रीका अनुसार यो चलचित्रले मनोरञ्जनसँगै प्रश्न पनि उठाउँछ, विदेश जाने सपना कत्तिको यथार्थपरक छ ? मानसिक स्वास्थ्यलाई हामीले कत्तिको गम्भीरतापूर्वक लिएका छौँ ? र नेपालीपन भनेको आखिर के हो, कागजी पहिचान कि सांस्कृतिक सम्बन्ध? यी प्रश्नको उत्तर खोज्ने प्रयास हो प्रवासी जीवन ।

क्षेत्रीका अनुसार यो एक कलाकारको व्यक्तिगत कथा मात्र होइन, हजारौँ प्रवासी नेपालीहरूको साझा अनुभवको सिनेम्याटिक अभिव्यक्ति पनि हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि