मोरङ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले राष्ट्रिय सभाको निर्वाचनमा पार्टी अनुशासन र निर्णय कार्यान्वयन नै सबैभन्दा ठूलो आधार हुने बताएका छन् । उनले कांग्रेस–एमालेबीच तय भएको सहकार्यमा कुनै किसिमको विचलन नहुने स्पष्ट पारे ।

शनिबार मोरङमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री घिमिरेले माघ ११ गते हुने निर्वाचनमा कांग्रेसका मतदाता, जनप्रतिनिधि र निर्वाचक मण्डलले पार्टी निर्णयअनुसार इमान्दारिताका साथ मतदान गर्ने विश्वास व्यक्त गरे ।

महामन्त्री घिमिरेले नेपाली कांग्रेस विगतका कमजोरी सुधार गर्दै व्यवस्थित र जिम्मेवार ढंगले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनमा होमिएको दाबी गरे ।
उनले मतदातासामु जाने क्रममा भावनात्मक नाराभन्दा पनि व्यवहारमा कार्यान्वयन गर्न सकिने एजेन्डालाई प्राथमिकतामा राख्ने नीति लिएको बताए ।

उनका अनुसार कांग्रेस यसपटक घोषणापत्रमा ठूला र आकर्षक शब्द प्रयोग गर्नेभन्दा पनि जनताले अनुभूति गर्न सक्ने, पूरा गर्न सकिने प्रतिबद्धतामात्रै समेटेर निर्वाचनमा जाने तयारीमा छ ।