खोटाङ, २४ पुसः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’लाई सहयोग गर्न दिक्तेल बजार आएका काठमाडौँको ललितकला क्याम्पसका विद्यार्थीले विभिन्न प्रकारका चित्र बनाइरहेका छन् । ललितकला क्याम्पस काठमाडौँका स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापति आशिष पौडेलको नेतृत्वमा यही पुस २१ गते दिक्तेल आएका १० विद्यार्थीले दिक्तेल बजारको विभिन्न चोक तथा व्यक्तिका घरको भित्तामा चित्र बनाइरहेका छन् ।
दश दिनसम्म यहाँ बस्ने विद्यार्थीलाई कला, संस्कृति तथा सन्देशमूलक चित्र बनाउन लगाइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । दिक्तेल बजार जिल्लाको प्रमुख व्यापारिक केन्द्र हो । यसलाई नमूना बजार बनाउने योजना बनाएका छौँ, उहाँले भन्नुभयो, “नगरपालिकाले सुरु गरेको अभियानमा ललितकलाका विद्यार्थीले कला, संस्कृति तथा सन्देशमूलक चित्र बनाइरहेका छन् । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै नगरपालिकाको आम्दानीको स्रोतसमेत वृद्धि गर्नेछ ।
नगरपालिकाको आयोजनामा यही पुस ३० गतेसम्म सञ्चालन हुने उक्त अभियानमा सहभागी विद्यार्थीलाई स्थानीयको इच्छा तथा टोलको विशेषता झल्कने किसिमका चित्र बनाउन लगाउने गरिएको छ । नेवार समुदायको बाहुल्यता रहेको शान्ति टोलमा नेवारी संस्कार तथा संस्कृति झल्कने चित्र बनाउन लगाइएको स्थानीयवासी एवम् नेवाः दय् दवू दिक्तेलका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।
‘कला, साहित्य र वातावरण संरक्षण हाम्रो परिकल्पना’ नाराका साथ चित्र बनाउन दिक्तेल आएका विद्यार्थीले नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत चित्रकला सम्बन्धी इच्छुक विद्यार्थीलाई समेत चित्र बनाउने कला सिकाइरहेका छन् । विद्यार्थीलाई नगरपालिकाले खाने, बस्ने र आवश्यक सामग्री उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले जानकारी दिए । नगरपालिकाले गत वर्ष मुन्दुम अन्तरराष्ट्रिय चित्रकला कार्यशाला आयोजना गरेको थियो । उक्त कार्यशालामा २१० चित्र क्यानभासमा उतारिएका थिए ।







