ललितपुर । फ्यामिली सेवा फाउन्डेसनले मानवसेवा आश्रम ललितपुर शाखामा आश्रितहरूका लागि सिलिकन ज्याकेट वितरण गरेको छ। जाडो मौसमलाई मध्यनजर गर्दै फाउन्डेसनले आश्रमको संरक्षणमा रहनुभएका ५३ जना आश्रितहरूका लागि करिब ६३ हजार रुपैयाँ बराबरका ज्याकेट वितरण गरेको हो।
फाउन्डेसनका संयोजक दधिवल थापाले सेवा भावका साथ जाडो मौसममा असहाय र बेसहारा व्यक्तिहरूका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए। दिनदुःखी बुवाआमाहरूको सेवा गर्न पाउनु नै आफ्नो लागि ठूलो सन्तोषको विषय भएको उल्लेख गर्दै थापाले आगामी दिनहरूमा पनि मानवसेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
मानवसेवा आश्रमले खुला सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन तथा शारीरिक र मानसिक रूपमा कमजोर व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा सम्भव हुनेहरूको पारिवारिक पुनर्मिलन सेवामा निरन्तर योगदान दिँदै आएको छ।







