म्याग्दी, २१ पुसः कालोपत्र भएको एक महिनामै भत्किन थालेको म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकको सुधार गर्ने सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।
सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी नगरपालिका– १ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सडक निर्माणका क्रममा उठेको गुणस्तरको विषयमा आइतबार बेनीमा सरोकारवालाबीच छलफल भएको थियो ।
जिल्ला समन्वय समितिको आयोजनामा भएको बैठकले सडक डिभिजन कार्यालय बागलुङले निर्माण कार्यको गुणस्तर सुनिश्तित गर्ने जिम्मेवारी बोध गर्दै हालसम्म भएका कामको अनुगमन गरी सुधार गर्नेपर्ने देखिए सुधार गर्ने र अब हुने निर्माण कार्यसमेत गुणस्तरीय बनाउने प्रबन्ध मिलाउने निर्णय भएको जिससका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले बताए ।
खत्रीको अध्यक्षतामा बसेको बैठकमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जीनीयर हरि सुवेदीलगायत प्राविधिक, बेनी नगरपालिका–१ का अध्यक्ष टेकबहादुर थापा, २ का अध्यक्ष यामबहादुर कार्कीलगायत जनप्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि अरुण सेढाइँ, अनुगमन समिति र उपभोक्ताको उपस्थिति रहेको थियो ।
बिटुमिनले सडकमा विछ्याएको चिप्स नसमातेर भत्किन थालेको र खाल्डैखाल्डा बनेको विषयमा बेनी नगरपालिकाले पुस ४ गते भकुण्डेमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा प्रश्न उठ्नुका साथै पुस ९ गते जनप्रतिनिधि र स्थानीयवासीको टोलीले सडक डिभिजन कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका थिए ।
बेनपा–२ का वडाध्यक्ष कार्कीले बेसको धुलोका कारण बिटुमिन जम्न नपाउँदा दुई चरणमा गरिएको कालोपत्र भत्किन थालेको बताउनुभयो । उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको चार किलोमिटर पाँच सय मिटर दुरीको सडकमा हालै दोस्रो चरणको कालोपत्र सकिएको थियो । बिमिराबोट–भकुण्डे–तमाने खण्डको चार किलोमिटर दूरी सडकमा कालोपत्रका लागि संरचना तयार पारेर बेस र सबबेस राख्ने तयारी भएको छ ।
नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र र ढलान गर्ने सम्झौता छ । उक्त योजना निर्माण गर्न विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनाको ठेक्का अवधि भएको योजनाको म्याद २०८२ फागुन महिनासम्म थप भएको छ ।
सडक डिभिजनका अनुसार करिब ७५ प्रतिशत भौतिक प्रगति भएको छ । सडक डिभिजन कार्यालय बागलुङका प्रमुख सुवेदीले ठेक्का र मर्मत अवधिभर सडकलाई तोकिएको गुणस्तर तथा मापदण्ड अनुसारको बनाइने प्रतिबद्धता जनाउनुभयो ।
चिसोका कारण जमेको बिटुमिन गर्मी र सवारी साधनको चाप बढेपछि पग्लिएर चिप्स र जमिनलाई समात्ने विश्वास लिएका छौँ, उनले भन , गर्मीयाममा पनि चिप्स समात्न नसकेर भत्किने अवस्था भेटिएछ भने तोकिएको गुणस्तर अनुसारको बनाउन लगाएर मात्र हस्तान्तरण गर्न लगाउछौँ । निर्माण कम्पनीले भत्किएको ठाउँमा सुधार गर्न पत्राचार गरिसकेको सुवेदीले बताए ।
निर्माण कम्पनीका आयोजना व्यवस्थापक सेढाइँले बर्खाअघि भएको पहिलो चरणको कालोपत्र र बेसलाई बाढीले बिगारेको, दोस्रो चरणमा विछ्याएको बिटुमिन चिसोले जमेर चिप्स निस्किए पनि गर्मी बढेपछि बिटुमिन पग्लिएर चिप्स समात्ने बताउँदै त्यसपछि पनि सुधार नभए गुणस्तर र मापण्ड अनुसारको बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।







