२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय सभामा ‘सभापति’ शब्द प्रयोग नगर्ने प्रस्ताव

४ माघ, काठमाडौं । राष्ट्रिय सभामा ‘सभापति’ शब्द प्रयोग नगर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय सभा नियमावली २०८० को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।

समिति सचिवालयले तयार पारेको प्रस्तावमा राष्ट्रिय सभाका विषयगत समितिको नेतृत्वलाई अध्यक्ष भनेर सम्बोधन उल्लेख छ । ‘मूल नियमावलीको ठाउँ-ठाउँमा रहेको ‘सभापति’ भन्ने शब्दको सट्टा ‘अध्यक्ष’ भन्ने शब्द र ‘सभापतित्व’ भन्ने शब्दको सट्टा ‘अध्यक्षता’ भन्ने शब्दहरु राखिएका छन्’ प्रस्तावित नियमावलीको बुँदा नम्बर १३१ मा छ ।

यो विषयमाथि नियमावली मस्यौदा समितिमा बुधबार छलफल भएको छ । तर, निर्णय भएको छैन ।

राष्ट्रिय सभाको नेतृत्वलाई अध्यक्ष भनेर सम्बोधन गर्ने गरिएको छ । विषयगत समितिका नेतृत्वलाई सभापति भन्ने गरिएको छ ।

‘लैङ्गिकमैत्री कानुन बनाउनुपर्छ । यसका लागि सभापति नभनेर अध्यक्ष भन्नु जायज र उपयुक्त छ । यो विश्वव्यापी अभ्यास पनि हो,’ समितिको बैठकमा एमालेकी सांसद दिलकुमारी रावल पार्वतीले भनिन् ।

तर, अध्यक्षभन्दा राष्ट्रिय सभाको अध्यक्ष र समितिको अध्यक्ष भनी खुलाउनुपर्ने र व्यवहारिक रुपमा अप्ठ्यारो हुन सक्नेतर्क कतिपय सांसदले गरे ।

संसद सचिवालयका कर्मचारीहरुले सेवा सुविधासम्बन्धी ऐनलगायत अन्य ऐनमा सभापति भनिएको सन्दर्भमा नियमावलीले फरक व्यवस्था गर्दा अप्ठ्यारो हुन सक्ने औंल्याए ।

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले पनि संसदीय समितिका सभापतिले पाउने सेवा सुविधालगायतका विषयमा अप्ठ्यारो पर्न सक्नेतर्फ जोड दिए ।

महालेखा परीक्षकको कार्यालयले सभापतिले लिने सेवा सुविधाका सन्दर्भमा हेर्ने र अध्यक्षलाई सेवा सुविधासम्बन्धी ऐनले नचिनेको भनी बेरुजु राख्न सक्ने भन्दै उनले थपे, ‘भोलि महालेखाले बेरुजु नदेखाउने, अन्य ऐनका सन्दर्भमा फरक नपर्ने अवस्था बन्नुपर्छ ।’

कांग्रेसकी सांसद अनिता देवकोटाले अप्ठ्यारो परे अप्ठ्यारो परेको पहिचान भएपछि सुधार गर्दै जान सकिने बताइन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त कार्य संचालन नियमावली बनाउँदा समेत संसदीय समितिका सभापतिलाई अध्यक्ष भनी सम्बोधन गर्ने विषय प्रस्ताव गर्दा दुवै सभाको छुट्टाछुट्टै नियमावलीमा पहिले संशोधन हुनुपर्ने विषय उठेको उनले स्मरण गरिन् ।

एउटा हाउसले निर्णय नगर्दासम्म सभापति भन्ने शब्द प्रयोगमा रहिरहने भएकाले राष्ट्रिय सभाले निर्णय लिनुपर्ने उनको भनाइ थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि