म्याग्दी, २० पुस : मङ्गला गाउँपालिका–२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् । ताराखेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मङ्गला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा शनिबारदेखि सडकबत्ती बालेर रातको समयमा उज्यालो बनाउन थालेका हुन् । तिहारमा देउसीभैलो खेलेर जुटाएको रु ३५ हजारसहित रु ७० हजारको लागतमा १५ वटा सडकबत्ती जडान गरेर ताराखेतलाई झिलीमिली बनाएको स्थानीय युवा अर्जुन पौडेलले बताए ।
देउसीभैलो खेलेर जुटाएको रकम बचाएर सामाजिक काममा लगाएका हौँ, उनले भने, स्थानीय अगुवा र अभिभावकहरूले पनि साथ दिएपछि ताराखेतलाई सुरक्षित बनाउनका लागि सडकबत्ती बाल्ने हाम्रो योजना सफल भएको हो ।
सडकबत्तीका कारण रातको समयमा उज्यालो भएपछि दुर्घटना, चोरी, चितुवालगायत बन्यजन्तुको गतिविधि नियन्त्रणमा सहयोग पुग्नुका साथै स्थानीयवासीलाई हिँडडुल गर्न सहज भएको छ । सुरक्षित महसुस गर्न थालेका छन् ।
सडकबत्ती उपभोक्ता समितिका अध्यक्ष गोकर्ण पौडेलले उपभोक्ताबाट थप रु ३५ हजार जुटाएर योजना सम्पन्न गरिएको जानकारी दिँदै मासिक रूपमा रकम सङ्कलन गरेर सडकबत्तीको महसुल तिर्ने बताए । सडकबत्तीको ताराखेतका बासिन्दा ९६ वर्षीया सन्तकुमारी भट्टचनले शनिबार उद्घाटन गरे । स्थानीय विनोद भट्टचनले ताराखेतका युवायुवती र बालबालिकाले सानो तर रचनात्मक तथा सन्देशमूलक काम गरेका बताए ।
अर्को चरणमा फोहर व्यवस्थापन र सरसफाइका लागि ताराखेतको सार्वजनिक स्थानमा फोहर सङ्कलन गर्ने तथा सिसीटिभी क्यामेरा जडान गर्ने योजना रहेको स्थानीय छमलाल पौडेलले बताए । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकमा पर्ने ताराखेतमा १७ घरपरिवारको बसोबास छ ।







