१४ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

मिर्गौला पीडितहरुद्वारा सहयोगको याचना

गलकोट बागलुङ, १८ पुसः मिर्गौलामा समस्या देखिँदा मनिषा १७ वर्षकी हुनुहुन्थ्यो । उनी १२ कक्षामा पढ्थे । औषधि खाएर निको हुन्छ भनेको समस्या बल्झिँदा बल्झिँदै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेको छ ।

बागलुङ नगरपालिका–१ निवासी मनिषा बोसेलले मिर्गौलामा समस्या देखिएर औषधि खान थालेको सात वर्ष भयो । डायलायसिस गराउन थालेको चार वर्ष भयो । सामान्य आर्थिक अवस्था भएका मनिषाको परिवार यतिबेला उनको उपचार गराउँदा गराउँदै विपन्न भएको छ । स्वास्थ्य समस्याकै बीचमा स्नातक भर्ना भएकी मनिषाले रोगसँग लड्दा पढाइलाई निरन्तरता दिन सकेनन् । स्वास्थ्यले मात्र होइन अर्थ पनि नभ्याएपछि बाच्नेसँगै पढ्ने पनि मनिषाका लागि सङ्घर्ष बन्दै छ ।

मनिषालाई चिकित्सकले मिर्गौला प्रत्यारोपणको सुझाव दिएका छन् । आमा मीना बोसेल मिर्गौला दिन तयार छन्। तर जाँच, प्रत्यारोपण र त्यसपछिको रेखदेखका लागि बोसेल परिवारसँग पैसा छैन । रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा समेत मिडियाका माध्यमबाट आपिल गरि पैसा सङ्कलन गरेर उपचार सम्भव भएको समाचार सुनेका बोसेल परिवारले बागलुङमा पत्रकार सम्मेलन गरेर सहयोगको अपिल गरेका छन् ।

मनिषा जस्तै धौलागिरि अस्पताल बागलुङमा डायलायसिस गराइरहेका जैमिनी नगरपालिका–७ धुल्लुका ३९ वर्षीय कमल नेपालीको पनि समस्या उस्तै छ । आर्थिक अवस्था कमजोर रहेका कमललाई मिर्गौलामा समस्या देखिएको चार वर्ष पुग्यो । श्रीमती, छोराछोरी र आमाबुबाको समेत जिम्मेवारी रहेका कमलालाई चिकित्सकले मिर्गौला प्रत्यारोपणको सुझाव दिएका छन् । श्रीमतीले मिर्गौला दिन तयार भए पनि आर्थिक अवस्था कमजोर हुँदा कमलले जाँचको समेत प्रक्रिया अगाडि बढाउन सकेका छैनन् ।

धौलागिरि अस्पतालमा हप्ताको दुई दिन निःशुल्क डायलायसिस गर्दै आएका कमललाई सरकारले दिने मासिक रु पाँच हजार सहयोगी भए पनि साध्य हुन सकेको छैन । मिर्गौला मिल्ने गर्नेदेखि प्रत्यारोपण गर्नेसम्मको प्रक्रियाका लागि चिकित्सकले न्यूनतम रु २० लाख खर्च हुन्छ भनेका छन् । तर, कमलसँग निःशुल्क डायलायसिस गर्न अस्पताल आउने जाने भाडासमेत छैन ।

धौलागिरि अस्पताल बागलुङमा ७० जनाले नियमित डायलायसिस गराइरहेका छन् । केही अझै पालोको पर्खाइमा छन् । नेपाल सरकारले मिर्गौलाका बिरामीलाई मासिक रु पाँच हजारसहित डायलायसिस सेवा निःशुल्क दिएको छ । मिर्गौलाले काम गर्न छाडेपछि कि नियमित डायलायसिस गर्नुपर्छ कि मिर्गौला प्रत्यारोपण गर्नुपर्छ । आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि सरकारले दिएको डायलायसिस सँगै रु पाँच हजार प्रत्यारोपणका लागि पर्याप्त नहुँदा सहयोगको अपिल गर्नुपर्ने बाध्यता भएको कमलले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि