पोखरा । पोखरा महानगरपालिका–३०, सिसुवा निवासी खड्कबहादुर लामाले मानवसेवा आश्रम हेम्जा शाखालाई ८५ हजार रुपैयाँ मूल्य बराबरको टेलिभिजन सहयोगस्वरूप प्रदान गर्नुभएको छ।
मानवसेवा आश्रममा आश्रित भई बसिरहेका असहाय, बेसहारा तथा मानसिक रूपमा कमजोर व्यक्तिहरूको दैनिकीलाई केही सहज र आनन्ददायी बनाउने उद्देश्यले उहाँ तथा उहाँको परिवारले स्वेच्छिक रूपमा उक्त सहयोग प्रदान गर्नुभएको हो। आश्रममा रहँदा आश्रितहरूलाई मनोरञ्जनको अवसर मिलोस्, मानसिक रूपमा सकारात्मक अनुभूति होस् र एक्लोपन दूर होस् भन्ने भावनाले साे सहयाेग प्रदान गरिएकाे हाे ।
मानवसेवा आश्रमले विगत १३ वर्षदेखि खुला सडकपेटी तथा सार्वजनिक स्थानमा अलपत्र अवस्थामा रहेका व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलनका कार्य गर्दै आइरहेको छ। यस्ता सेवामूलक कार्यमा विभिन्न व्यक्ति तथा परिवारबाट प्राप्त सहयोगले आश्रमको सेवा थप सुदृढ बन्दै गएकाे छ।
आश्रम परिवारले खड्कबहादुर लामा तथा उहाँको परिवारप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि मानवीय सहयोग र साथको अपेक्षा गरेको छ ।







