१ फाल्गुन २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार

जनश्रमदानबाट पञ्चकन्या मन्दिर पुनर्निर्माण

भोजपुर, १७ पुस : पौवादुङमा गाउँपालिकामा अवस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या देवी मन्दिरको संरक्षण, विकास तथा पुनर्निर्माणका लागि सहयोग जुट्न थालेको छ।
पवित्र धार्मिक स्थलका रूपमा परिचित च्याङ्ग्रे पोखरी क्षेत्रलाई व्यवस्थित तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले हाल विभिन्न पूर्वाधार तथा पुनर्निर्माणका काम तीव्र गतिमा अघि बढिरहेको गाउँपालिकाले जनाएको छ। यस क्षेत्रमा पोखरी संरक्षण, धार्मिक संरचनाको पुनर्निर्माण, सरसफाइ तथा सौन्दर्यीकरणका कार्यलाई प्राथमिकतामा राखिएको छ।

यसै क्रममा केही समयअघि च्याङ्ग्रे पोखरी परिसरमा ५० थान ‘आराम बेञ्च’ स्थापना गर्न सामाजिक सञ्जालमार्फत सहयोगको आह्वान गरिएकोमा एक हप्ताभित्रै लक्ष्य पूरा भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। उनका अनुसार छोटो समयमा नै स्थानीय बासिन्दा तथा शुभेच्छुकहरूको सक्रिय सहभागिताबाट आवश्यक सहयोग जुट्नुले धार्मिक तथा सामुदायिक कार्यप्रति नागरिकको चासो र अपनत्व झल्काएको छ।

यसैगरी पञ्चकन्या देवी मन्दिर निर्माण कार्य सम्पन्न गर्नका लागि गरिएको सहयोग आह्वानअनुसार जेम्स स्कुल, धापाखेल, ललितपुरका संस्थापक प्रमुख राजेश खड्काले मन्दिर निर्माणका लागि पाँच लाख रुपैयाँ नगद सहयोग प्रदान गर्नुभएको छ। खड्काले आगामी दिनहरूमा पनि मन्दिर तथा पोखरी क्षेत्रको विकासका लागि आर्थिक, भौतिक, नैतिक तथा मानवीय सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाकाले च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवी मन्दिर धार्मिक आस्थासँग मात्र नभई स्थानीय संस्कृति, पहिचान र सम्भावित धार्मिक पर्यटनसँग समेत जोडिएको स्थल रहेको जनाएको छ । यस क्षेत्रको विकासले धार्मिक पर्यटकको आगमन बढ्नुका साथै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यस पवित्र, धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण र दीर्घकालीन विकासका लागि देश–विदेशमा रहनु भएका सम्पूर्णलाई सक्दो सहयोग गर्न गाउँपालिकाले अपिल गरेको छ। स्थानीय सरकार, दाता र नागरिकको साझा प्रयासबाट निर्माण तथा विकासका कामले निर्धारित समयमै पूर्णता पाउने विश्वास लिइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि