स्याङ्जाको पुतलीबजार नगरपालिकामा स्याङ्जा सदरमुकाममा नै पहिलो पटक कपडा बैंक सञ्चालनमा आएको छ । शुक्रबार पुतलीबजार नगरपालिका १ स्थित ट्याक्सी चोकमा सो बैंकको शुभारम्भ गरिएको हो । पुतलीबजार नगरपालिका ३ मा रहेको लत्रेपिपल क्लब र पुतलीबजार नगरपालिकाको साझेदारी तथा समन्वयमा सो बैंक सञ्चालनमा आएको लत्रेपिपल क्लबका अध्यक्ष समेत रहेका कपडा बैंक कार्यक्रमका संयोजक मनोज मल्लले जानकारी दिए ।
सो बैंकको शुक्रबार उद्घाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले कपडा बैंक सञ्चालनको मुख्य उद्देश्य लक्षित वर्गका नागरिकहरूलाई आवश्यक कपडा सहज र सम्मानजनक रूपमा उपलब्ध गराउनु रहेको बताए । कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना, खुमा अर्याल फाउन्डेसन स्याङ्जाका अध्यक्ष लेखनाथ शर्मा, समाजसेवी विश्वराज मरासिनी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अवसरमा कपडा बैंकलाई दीगो र प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय समुदायको सक्रिय सहभागिता, नियमित कपडा संकलन अभियान, पारदर्शी व्यवस्थापन प्रणाली, स्वयंसेवक परिचालन तथा नगरपालिकाको निरन्तर समन्वय र अनुगमन आवश्यक रहेको कुरामा वक्ताहरूले जोड दिएका थिए ।
शुभारम्भ कै अवसर पारेर पत्रकारहरुसंग कुरा गर्दै कार्यक्रम संयोजक मल्लले आम जन समुदायका घरघरमा रहेका, साघुरो भएका, साना भएका वा प्रयोग गर्न मिल्ने तर उपयोग नगरिएका कपडा, झोला, जुत्ता लगायतका सामानहरु धोएर सहयोग वा दान गर्नको लागि आह्वान गरेका छन ।
साथै उनले सबै माझ यो सुचना सम्प्रेषण गर्न समेत अपिल गरे । कपडा बैंक साझेदार संस्था लत्रेपिपल क्लबका अध्यक्ष मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रुद्र बहादुर विश्वकर्माले स्वागत एवम् सञ्चालन सचिव राजेश कुवरले गरेका थिए ।







