१ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

नयाँ शैलीमा मानव बेचबिखन: सीमानाका जोखिममा

कञ्चनपुर, १३ पुस : भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ । मुख्य नाका गड्डाचौकीमात्र नभई वैकल्पिक तथा अवैध मार्गको प्रयोग बढ्दै जाँदा बेचबिखन नियन्त्रणमा चुनौती थपिएको छ ।

मानव बेचबिखनको स्वरूप समयक्रमसँगै बदलिँदै गएको र पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन, नक्कली विवाह, पर्यटन तथा अनलाइनमार्फत हुने ‘साइबर ट्राफिकिङ’का घटना बढ्दै गएको माइती नेपालका संयोजक महेश्वरी भट्टले बताए ।

गरिबी, बेरोजगारी, सीपको कमी र सामाजिक सञ्जालको दुरुपयोगसँगै आफन्त र चिनजानकै व्यक्तिको संलग्नता बेचबिखनको मुख्य चुनौती बन्दै गएको छ । संयोजक भट्टका अनुसार खुला सीमा, प्रविधिमैत्री निगरानीको कमी, प्रमाण सङ्कलनमा कठिनाइ र मुद्दा प्रक्रियामा ढिलाइ मानव बेचबिखन नियन्त्रणका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

पीडित र परिवारकै मौनता तथा उजुरी गर्न डराउने प्रवृत्तिले मानव तस्करहरूको मनोबल बढेको छ, उनले भने, पछिल्लो समय मानव तस्करहरूले बाइक र स्थानीय ट्याक्सीजस्ता निजी सवारीसाधन प्रयोग गरी वैकल्पिक मार्गबाट सीमा पार गराउने नयाँ शैली अपनाएका छन् ।

उनका अनुसार बेचबिखनमा परेकालाई यौन शोषण, बालश्रम, जबर्जस्ती आपराधिक गतिविधि तथा अङ्ग प्रत्यारोपणसम्म प्रयोग गर्ने गरिएको पाइएको छ । जसमा अन्तरराष्ट्रिय अपराध सञ्जालको समेत संलग्नता देखिने गरेको छ ।

पछिल्लो एक वर्षको अवधिमा पश्चिमी सीमानाका गड्डाचौकी तथा आसपासका क्षेत्रबाट मानव बेचबिखनको जोखिममा परेका २०९ जना महिला तथा बालबालिकालाई सीमाबाटै उद्धार रोकथाम गरेको छ ।

संस्थाको वार्षिक कार्यप्रगति प्रतिवेदनअनुसार उद्धार गरिएकामध्ये ९० जना बालबालिका र ११९ जना महिला छन् । उद्धार गरिएका स्थानअनुसार गड्डाचौकी सीमानाकाबाट ८९ जना, महेन्द्रनगर बसपार्क तथा अन्य क्षेत्रबाट ६४, महाकाली चारलेन पुल क्षेत्रबाट ३१ जना र झोलुङ्गे पुल क्षेत्रबाट २९ जना रहेका छन् ।

उद्धार गरिएकामध्ये १८२ जना सुदूरपश्चिम प्रदेशकै नागरिक छन् । जिल्लागत रूपमा कञ्चनपुरका एक सय, कैलालीका ३२, बैतडीका १४, बझाङका १० र डोटीका आठ जना छन् ।

पछिल्लो तीन वर्षमा भारतका विभिन्न सहरबाट ४९ जना महिला तथा बालबालिकाको सकुशल उद्धार गरिएको छ । सन् २०२३ मा २५, सन् २०२४ मा १४ र सन् २०२५ मा १० जनाको उद्धार भएको माइती नेपालले जनाएको छ ।

पछिल्लो एक वर्षमा मात्रै बिहार, चण्डिगढ, मुम्बई, दिल्ली, हैदरावादलगायत सहरबाट आठ बालिका र दुई महिलाको उद्धार गरिएको हो । यसै अवधिमा माइती नेपालमा १८९ वटा खोजतलासका निवेदन दर्ता भएका छन् । तीमध्ये ८१ जनालाई फेला पारेर परिवारको जिम्मा लगाइएको छ । खोजतलासका लागि निवेदन परेकामध्ये सुदूरपश्चिम प्रदेशकै नागरिकको सङ्ख्या १६३ रहेको छ ।

मानव बेचबिखन नियन्त्रणका लागि सीमाक्षेत्रमा १२ हजार ८५८ सवारीसाधन जाँच गरेको छ । यस क्रममा ४४ हजार ५८१ जनालाई सुरक्षित बसाइँसराइ तथा मानव बेचबिखनविरुद्ध परामर्श दिइएको छ । साथै २२७ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको छभने २१७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ । ३३ जनालाई सीमाबाटै परामर्श दिएर घर फर्काइएको छ ।

समुदायस्तरमा घरदैलो कार्यक्रम, विद्यालयमा सचेतनामूलक गतिविधि र यातायातकर्मीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको माइती नेपालका संयोजक भट्टले बताउनुभयो । प्रहरी प्रशासनसँगको समन्वयमा जबर्जस्ती करणीसम्बन्धी चारवटा र मानव बेचबिखनसम्बन्धी एकवटा मुद्दा दर्ता भई कानुनी प्रक्रियामा रहेका छन् ।

खुला सीमा र बदलिँदो प्रविधिसँगै मानव बेचबिखनको जोखिम बढिरहेकाले सीमास्तरको निगरानी, समुदाय सचेतना र बहुपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको संयोजक भट्टको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि