काठमाडौँ। मानवसेवा आश्रम रानीवन शाखाले बुधबार दुई जना बेवारिसे पुरुषको उद्धार गरेको छ। उद्धार हुनेमा भारतको बिहार घर बताउने २० वर्षीय मुकेश पासवान र अर्का प्रमोद दास रहेका छन्।
दुवै जनालाई सडकपेटीमा बेवारिसे अवस्थामा फेला पारी प्रहरीको समन्वयमा उद्धार गरी आश्रमको संरक्षणमा राखिएको हो। हाल दुवैको आवश्यक स्वास्थ्य परीक्षण गरी पालनपाेषणकाे जिम्मा आश्रमले लिएकाे छ ।
प्रमोद दासको पारिवारिक पृष्ठभूमि हालसम्म खुल्न सकेको छैन। दुवै जनाको परिवार सम्पर्कमा आएमा आवश्यक प्रक्रिया पूरा गरी पारिवारिक पुनर्मिलन अगाडि बढाइने आश्रमले जानकारी दिएको छ।
साथै, सोही दिन उद्धार भएकी ८४ वर्षीया लाक्पा डोल्मा शेर्पाको भने सफल पारिवारिक पुनर्मिलन गरिएको छ। उद्धारपछि बिहीबार उनका छोरा आश्रमको सम्पर्कमा आएपछि आवश्यक प्रक्रिया पूरा गरी उनलाई परिवारको जिम्मा लगाइएको हो।







