काठमाडौँ। नेपाल सरकारद्वारा सञ्चालन गरिएको ‘स्वस्थ मनः स्वस्थ जीवन’ मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ लाई समर्थन गर्दै मानवसेवा आश्रमले मानसिक स्वास्थ्य सचेतनाका कार्यक्रमहरू सुरु गरेको छ। “मनको कुरा गरौँ” भन्ने मूल नारासहित सञ्चालन भइरहेको अभियानअन्तर्गत आश्रमले रानीवन शाखामा आश्रितहरूका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरी परामर्श प्रदान गरेकाे छ ।
कार्यक्रममा सहभागीहरूलाई सहज वातावरणमा भेला गराई मानसिक स्वास्थ्यको महत्व, नेपाल सरकार तथा मानवसेवा आश्रमले सञ्चालन गरिरहेका सेवाहरू र ११६६ निःशुल्क मानसिक स्वास्थ्य हेल्पलाइनको प्रयोगबारे जानकारी गराइएको थियो। सहभागीहरूले आफ्ना अनुभव र धारणा खुलेर व्यक्त गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याएका थिए। अभियान डर, तनाव, चिन्ता, डिप्रेसन वा भावनात्मक संकटको सामना गरिरहेका व्यक्तिहरूलाई बढी प्रभावकारी हुनेछ । कार्यक्रममा मनोपरामर्शकर्ता एकता श्रेष्ठले सहजीकरण गर्नुभएको हाे।
सरकारका अनुसार अभियान आगामी तीन महिनासम्म सञ्चालन हुनेछ। यस अवधिमा मानवसेवा आश्रमले सबै शाखामा रहेका आश्रितहरूका लागि मानसिक स्वास्थ्य सचेतना, प्रारम्भिक परीक्षण, मनोसामाजिक परामर्श तथा आवश्यक परेमा रिफरल सेवा प्रदान गर्ने जनाएको छ। आश्रमले अभियानमार्फत खुला संवादको प्रवर्द्धन र सहानुभूतिपूर्ण समाज निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।







