काठमाडौँ । नेपाल सरकारद्वारा सञ्चालन गरिएको ‘स्वस्थ मनः स्वस्थ जीवन’ मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ लाई समर्थन गर्दै मानवसेवा आश्रमले मानसिक स्वास्थ्य सचेतना सम्बन्धी गतिविधिहरू सुरु गरेको छ। उक्त अभियान “मनको कुरा गरौँ” भन्ने मूल नारासहित शुभारम्भ भइसकेको छ। सोही अभियानलाई समर्थन गर्दै आश्रमले सातै प्रदेशका २१ जिल्लामा रहेका २९ वटा शाखामा अभियान सञ्चालन गरिरहेको छ। भने सरकारद्वारा अभियान आगामी तीन महिनासम्म सञ्चालन हुने जनाइएको छ। यस अवधिमा आश्रमले दैनिक तथा साप्ताहिक रूपमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक र सेवा केन्द्रित गतिविधिहरू सञ्चालन गर्ने जनाएको छ।
अभियानको मुख्य उद्देश्य मानसिक स्वास्थ्यसम्बन्धी समस्या न्यूनीकरण गर्नु, सहानुभूति र करुणाको प्रवर्द्धन गर्नु, तथा बालबालिका, किशोर, युवा र सर्वसाधारणको मानसिक स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नु रहेको छ।
अभियानअन्तर्गत आश्रममा आश्रित, सेवक–सेविका, अभियन्ता तथा कर्मचारीहरूका लागि मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, प्रारम्भिक परीक्षण (स्क्रिनिङ), मनोसामाजिक परामर्श तथा आवश्यक परे रिफरल सेवा प्रदान गर्ने जनाएको छ।
यसैगरी, आश्रमले नेपाल सरकारद्वारा सञ्चालनमा रहेको निःशुल्क मानसिक स्वास्थ्य हेल्पलाइन ११६६ को सदुपयोग गर्दै गम्भीर मानसिक समस्या भएका आश्रितहरूका लागि सेवा सञ्चालन गरिने जानकारी दिएको छ। अभियानमार्फत डर, तनाव, चिन्ता, डिप्रेसन वा भावनात्मक संकटको सामना गरिरहेका व्यक्तिहरूलाई तत्काल र गोप्य सहयोग लिन प्रेरित गरिएको छ।
मानवसेवा आश्रमले यस अभियानमार्फत मानसिक स्वास्थ्यको प्रवर्द्धन, खुला संवादको संस्कार विकास तथा सहानुभूतिपूर्ण समाज निर्माणमा आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ।







