झापा । मानवसेवा आश्रम झापा शाखाले भोलि आर्थिक वर्ष २०८१/८२ को आय–व्यय विवरण (सामाजिक लेखा परीक्षण) सार्वजनिक गर्ने भएको छ।
१७ औँ शाखाका रूपमा गत वर्ष मंसिर २३ गतेदेखि सेवा सुरु गरेको झापा शाखाले एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । भाेलि पुस १० गते बिहान ८ बजे मेचीनगर–४, आमडाँगीस्थित आश्रम परिसरमा साे कार्यक्रमकाे आयोजना गरिएको छ।
झापामा आश्रम भवन निर्माणका लागि स्थानीय समाजसेवी रामबहादुर प्रधानले आफ्नो स्वामित्वमा रहेको २ विगाहा ५ कट्टा जग्गा मानवसेवा आश्रमलाई दान गर्नुभएको हो। उहाँले आफूसँग भएको सम्पूर्ण सम्पत्ति आश्रमलाई समर्पण गरी हाल स्वयं पनि आश्रममै बस्दै आउनुभएको छ।
प्रधान दम्पतीले करोडौँ मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराएपछि मेचीनगर नगरपालिकाको पहलमा आश्रम भवन निर्माण सम्पन्न भएको हो।
हाल आश्रममा २५ महिला र ४२ पुरुष गरी ६७ जना आश्रितको संरक्षण हुँदै आएको छ। शाखाले स्थापनाकालदेखि हालसम्म सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गरिरहेका १ सय २१ जना सहयोगापेक्षीको उद्धार गरिसकेको छ। उद्धार भएकामध्ये सम्भव हुनेहरूको पारिवारिक पृष्ठभूमि पहिचान गरी ३० जनाको सफल पारिवारिक पुनर्मिलन समेत सम्पन्न गरिएको छ।
आश्रमको नियमित सञ्चालन तथा दीगो व्यवस्थापनका लागि स्थानीय सरकार तथा झापाबासी मनकारी दाताहरूको निरन्तर सहयोग प्राप्त हुँदै आएको शाखाले जनाएको छ।







