काठमाडौँ । मानवसेवा आश्रम रानीवन शाखामा नेपाल राष्ट्रिय मानसिक स्वास्थ्य संस्थान(NIOMH) को आयोजनामा मनोचिकित्सक शिविर सम्पन्न भएको छ। शिविरमा आश्रममा आश्रित मानसिक रोगी बिरामीहरूको मानसिक स्वास्थ्य परीक्षण गरी आवश्यक उपचार प्रदान गरिएको छ।
नेपाल राष्ट्रिय मानसिक स्वास्थ्य संस्थान र मानवसेवा आश्रमबीच छ महिनाअघि भएको सम्झौताअनुसार प्रत्येक महिनामा दुई पटक मनोचिकित्सक शिविर सञ्चालन गर्ने सहमति भएको थियो। विभिन्न कारणले नियमित रूपमा सञ्चालन हुन नसकेको उक्त शिविर अब भने निरन्तर रूपमा सञ्चालन हुने भएको छ।
शिविरमार्फत आश्रममा रहेका गम्भीर मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका व्यक्तिहरू लाभान्वित हुँदै आएका छन्। यसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै सेवामा पहुँच सबलीकरण गर्ने उद्देश्य राखेको छ। संस्थानले उक्त शिविर निःशुल्क रूपमा प्रदान गर्दै आएको छ।
शिविरमा डाक्टर श्रीया बास्टाकोटीले सहजीकरण गर्नुभएको थियो, जसमा २३ जना आश्रितहरू लाभान्वित भएका छन्।







